काठमाडौं । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो ।
तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताउनुभयो । सुनसरी तरकारीका लागि उर्बर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताउनुभयो ।
यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, रामतोरियाँ, परबल, टमाटर लगायतका तरकारीको मूल्य बढेको उपभोक्ताको भनाइ छ । पहिले प्रतिकिलो रु ३० मा पाउने तरकारी अहिले प्रतिकिलो रु ८० देखि १०० मा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताउनुभयो ।
अहिले बजारमा काउली प्रतिकिलो रु १०० देखि १३० सम्म, टमाटर रु १००, परवल प्रतिकिलो रु १०० देखि १५०, बोडी प्रतिकिलो रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको उपभोक्ता चन्दन मेहताले बताउनुभयो । तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेको गुनासो गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया