काठमाडौं । दशँैका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गर्नुभएको हो ।
व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताउनुभयो । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक रु २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उहाँले बताउनुभयो । दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन् । तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उहाँको भनाइ छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उहाँले रु ६० लाख लगानीमा भेडापालन शुरु गर्नुभएको थियो ।
अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया