काठमाडौँ । उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
एशियाली विकास बैंकको करीब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध आगामी वैशाख पहिलो सातामा सकिने गरी काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । २४ मिटर उचाइको बाँधमा वर्षाद्मा परेको पानी जम्मा गरिने छ । निर्माण सम्पन्न भएपछि आगामी वर्षाद्मै बाँधमा पानी सङ्कलन शुरु गरिने छ । लगत्तै परीक्षण पनि गरिने छ ।
वर्षाद्मा जम्मा गरिएको पानी अर्को वर्ष हिउँदमै वाग्मतीमा बगाउने गरी तयारी शुरु भएको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए । “तीन महीनाभित्रमा गोकर्णबाट पशुपतिनाथसम्मको वाग्मतीको पानीलाई हातले चलाउन सकिने बनाउने गरी समिति लागिपरेको छ, साप्ताहिक रुपमा भइरहेको वाग्मती सफाइ महाअभियानलाई पनि थप प्रभावकारी रुपमा अघि बढाइनेछ”, उनले भने ।
आयोजना प्रमुख ढकालसहितको समितिका प्राविधिकको समूहले आज बाँध निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ । बाँध निर्माणसँगै वाग्मती सौन्दर्यीकरणमा रोकिएको काम पनि शुरु गर्ने पहल भइरहेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले बताइन् ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी आगामी वर्षको हिउँददेखि प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने भएको छ । बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ । बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया