जनकपुरधाम । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकार सातै प्रदेशमा आकस्मिक औषधि भण्डारण केन्द्र र प्रयोगशाला स्थापना गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ धनुषा शाखाको प्रथम जिल्ला अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नेपालले विश्व स्वास्थ्य सङ्गठनमा व्यक्त गरेको प्रतिबद्धताअनुसार ओषधि बिक्री वितरण गरी व्यवसायलाई मर्यादित बनाउनु आवश्यक रहेको बताउनुभयो ।
कतिपय नियममा त्रुटि छ भने कतिपय व्यवसायीको पनि त्रुटि रहेको चर्चा गर्दै राज्यमन्त्री यादवले त्रुटि सच्याउँदै मापदण्डअनुरूप व्यवसाय गर्नु अपरिहार्य भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा अहिले पनि अव्यवस्थित र मापदण्डविपरीत औषधि पसल सञ्चालन गर्ने प्रवृत्ति कायम रहेको उहाँको भनाइ थियो ।
राज्यमन्त्री यादवले व्यवसायीले समयसापेक्ष शिक्षा र तालीम लिई व्यवसायलाई मर्यादित बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले पौष्टिक आहार औषधिको श्रेणीमा नपरे पनि व्यवसायीले पसलमा राखी बिक्री गर्ने र चिकित्सकले पनि बिरामीलाई औषधिका रूपमा पौष्टिक आहार खरीद गर्ने सल्लाह दिने प्रवृत्ति चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।
नेपाल चिकित्सक सङ्घ जनकपुर शाखाका अध्यक्ष डा रामनरेश पण्डितले सङ्घीय संरचनाअनुरूप प्रादेशिक औषधि व्यवस्था कार्यालय जनकपुरमा स्थापना गर्नु जरूरी छ भन्नुभयो । नेपाल औषधि व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश साहले सरकारले वर्षौंदेखि व्यवसाय गर्दै आएकालाई पेशाबाट नै विस्थापित हुने नीति ल्याउन खोज्नु विडम्बना भएको बताउनुभयो ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साहले भिठ्ठामोर भन्सारबाट पनि औषधि आयात गर्ने व्यवस्थाका लागि सङ्घद्वारा पहल भइरहेको जानकारी दिनुभयो । तयारी समितिका संयोजक सत्यनारायण साहको अध्यक्षतामा भएको सो समारोहमा महासचिव प्रमोद अग्रवाल र व्यवसायी तेजनारायण चौधरीले व्यवसायीको समस्या अवगत गराउनुभएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया