नागार्जुन नगरपालिकाको इचङ्कु फूलैफूलले छपक्क छोपेको छ । अहिले सबैको घर, आँगनको डिलदेखि खेतबारीमा ढकमक्क सयपत्री, मखमली फूल फूलेका छन् । ढकमक्क फूल देख्दा लाग्छ, यो फूलको गाउँ हो ।
उमेरले ५० पुगिसकेकी साइली लामा फूल खेतीबाट मात्रै वर्षमा २ देखि ३ लाख कमाउँछिन् । नागार्जुन नगरपालिकाको इचङ्कुमा बसोबास गर्ने उनले त्यहीँको एउटा सानो टुक्रा जमिन भाडामा लिएर फूल खेती गरेको २५ वर्ष भइसक्यो । उनी मौसम अनुसारको फूल लगाउँछिन् । अहिले तिहार नजिकिँदे गरेकाले उनको बारीमा सयपत्री फूल ढकमक्क फूलेका छन् ।
त्यसो त उनलाई अझै धेरै जमिन लिएर आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने मन छ तर, जनशक्तिको अभावले गर्दा त्यही सानो टुक्रा जमिनलाई स्याहारसुसार गर्न पनि धौधौ परेको छ साइलीलाई । यो समस्या साइलीको मात्र नभएर इचङ्कुमा फूल खेती गर्ने अधिकांश व्यक्तिहरुको हो ।
चमेली श्रेष्ठले पनि मजदुरको अभावमा आफ्नो व्यवसायलाई अझै बढाउन पाएकी छैनन् यद्यपि, अहिले गरिरहेको व्यवसायिक फूल खेतीले पनि जसोतसो परिवारको गर्जो टारिरहेको उनी बताउँछिन् ।
चमेली श्रेष्ठ, ४६, ले व्यवसायिक फूल खेती गरेको ८ वर्ष भयो । फूलको व्यापारबाट मात्रै उनको वार्षिक ६० हजारदेखि १ लाखसम्मको आम्दानी हुने गरेको छ । फूलका अतिरिक्त उनले अन्य बाली पनि लगाउँछिन् ।
दिलमाया श्रेष्ठले १०–११ वर्ष देखि फूल खेती गर्दै आएकी छिन् । फूल रोप्नेदेखि, गोड्ने, हेरचाह गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका सबै जिम्मेवमरी उनी एक्लैले निभाउँदै आएकी छिन् । एक्लै सबै काम गर्नुपर्ने भएकाले समस्या हुने गरेको उनको भनाइ छ । तर, फूल खेतीका बारेमा ज्ञान भएको र इच्छुक मजदुरहरु पाउन निकै कठिन भएको उनले बताइन् । ‘मैले आफै पनि महिला समूहले दिएको तालिमबाट सिकेर फूल खेती गर्न थालेकी हुँ त्यसैले, यसबारेमा अलिअलि ज्ञान चाहिँ भएकै मान्छे हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले प्रष्ट्याइन् ।
यसरी इचङ्कु गाउँका महिलाहरुलाई फूल खेतीले आत्मनिर्भर बनाएको छ । आफ्नो र परिवारको लागि २,४ पैसा खर्च गर्नलाई उनीहरुले श्रीमान् र परिवारका अन्य सदस्यको भर पर्नु पर्दैन आजभोलि । सरल भाषामा भन्नुपर्दा फूलहरुले साँच्चै नै उनीहरुको जीवन सजाइदिएको छ ।
हेर्नुहोस् १९ तस्वीरमा फूलले ढकमक्क इचङ्कुलाई :
तस्वीर: बिप्लव जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया