विकासको केन्द्रमा पर्दैछ जाजरकोट

काठमाडौं । पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो ।

राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी करिडोर), रुकुमपूर्व, पश्चिम हुँदै जाजरकोटबाट दैलेख जोड्ने मध्यपहाडी लोकमार्ग (पुष्पलाल) छिन्चु–सल्यान–जाजरकोटबाट जुम्ला–रारा सडक (जाजरकोट–जुम्ला–रारा), लुम्बिनी–दाङ हुँदै जाजरकोट–रारा सडक (लुम्बिनी–रारा सडक) र जाजरकोट–नलगाड नगरपालिका–बारेकोट गाउँपालिका हुँदै जुम्ला जोड्ने सडक जाजरकोट भएर गएका कारण जिल्लाको बीच भागमा परेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रासससँगको कुराकानीमा बताउनुभयो ।

व्यापारिक दृष्टिकोणले जिल्ला केन्द्रमा भएका कारण विकासको गति अनि यसको फाइदा लिन सके जिल्लाको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने मन्त्री बस्नेतले बताउनुभयो । अहिले सबै सडकहरु निर्माण कार्य धमाधम चलिरहेको छ । सडकहरुको बीचमा रहेका पुलहरुसमेत प्राविधिक लागत अनुमान गरी निर्माणमा तीव्रता दिइएको उहाँको भनाइ छ । छिन्चु–जाजरकोट सडकखण्डमा अहिले कालोपत्र भइसकेको छ । जाजरकोट सदरमुकाम हुँदै पाँचकाटियासम्मको सडकमा कालोपत्रका लागि प्रक्रियामा गइसकेको सडक विभागले जनाएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गमा जाजरकोट खण्डमा कालोपत्रको काम धमाधम भइरहेको छ । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकामदेखि दल्लीसम्मको सडकमा यसै आर्थिक वर्षदेखि कालोपत्रको काम शुरु हुन लागेको छ । जिल्लाका आन्तरिक सडक छेडा–मार्क–शिवालय हुँदै कचाली जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । यो आर्थिक वर्षमा कालोपत्र र स्तरोन्नतिका लागि थप बजेट आई कार्यान्वयन तहमा पुगेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

विकास भएन भनी रुने दिन गएको भन्दै उहाँले अब जिल्लामा उत्पादन भएका वस्तुलाई बजारीकरण गरी अर्थोपार्जनतिर लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आउने सामग्री ल्याएर आएको गाडी फर्कँदा रित्तो जाने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।” त्यस्तै जिल्लालाई विद्युतीकरण गर्नका लागि तीन ठाउँमा विद्युत्का सवस्टेशन निर्माण कार्य शुरु भएको छ । एक ठाउँमा सवस्टेशन निर्माण कार्य पूरा भएर विद्युत् वितरण गर्ने काम सञ्चालन भएको छ ।

मुख्य–मुख्य सडकको केन्द्र भागमा सवस्टेशन निर्माण गरी विद्युत् वितरण गर्न मन्त्री बस्नेतले बनाएको कार्ययोजनाअनुसार काम भइरहेको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने अन्तिम तयारीमा पुगेको छ ।

आयोजनाले पहिलेको भन्दा ४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अहिले बाँधस्थलको उचाइ बढेका कारण थप सात मेगावाट विद्युत् उत्पादन वृद्धि हुने प्रतिवेदन तयार गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि प्रक्रिया शुरु भइसकेको छ । जिल्लामा जोडिएको सडक सञ्जालसँग विद्युत् लाइनहरु मिलाएर गएमा काम छिटो हुने र सबै ठाउँमा पुग्न प्रभावकारिता भएको मन्त्री बस्नेतको दाबी छ ।

भौगोलिकरूपमा अलि जटिल रहेको जाजरकोटमा सडक विकास र विद्युतीकरण जिल्लाभर बनाउन अब कम्तीमा तीन वर्षभन्दा बढी नलाग्ने सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?