गोदावरी पुष्प मेला : ५५ लाख भन्दा बढिको कारोबार

काठमाडौं । कातिक १ गतेबाट ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औँ पुष्प मेलामा साढे ५६ लाख रुपियाँको कारोबार भयो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ।

चारदिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो । तर फ्यानका महासचिव विश्वमणि पौडेलका अनुसार आइतवार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको पाइएको छ ।

मेला शुरु भएको पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए जसमा १२ लाख रूपैयाँको कारोवार भएको थियो। शनिवार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रूपैयाँ बाराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।

आइतवार सम्ममा १० हजारले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । जसमा साढे १९ लाख रूपैयाँको कारोबार भएको छ। सोमवार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान आयोजकले गरेको छ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन्।

यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ।

विगतको अनुभव हेर्दा अन्तिम दिन अवलोकनकर्ताहरु अलि बढी आउने गरेको र कारोवार पनि बढी हुने गरेको आयोजकको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?