काठमाडौं । रोजगारीको प्रलोभनमा पारेर युवतीहरुलाई यौनसम्पर्कका लागि बाध्य पार्ने युवकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न होटलमा लगेर युवतीहरुलाई स्वदेशी तथा विदेशी पुरुषसँग यौनसम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले सर्लाहीको भक्तिपुर गाविस–१ स्थायी घर भई हाल काठमाडौं, डल्लु बस्ने ३१ वर्षीय टंकबहादुर माझीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार ठमेल आसपासका होटलमा लगेर माझीले राजधानी बाहिरबाट आएका युवतीलाई काममा लगाइदिन्छु भन्दै यौनसम्पर्कमा बाध्य पार्ने गरेको पाइएको छ ।
बोगटीका अनुसार दरबारमार्गबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान नागपोखरीमा शंकास्पद अवस्थामा आएको ट्याक्सी रोकेर सोधपुछ गर्दा तीन युवती ठमेल क्षेत्रका होटलमा परपुरुषसँग यौनसम्पर्कपछि डेरातर्फ जाँदै गरेको तथ्य खुलेको थियो । उनीहरुका साथबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया