काठमाडौं । क्यानडामा हुने पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को फिल्म दर्ताका लागि आह्वान गरिएको छ । अवार्डमा सहभागिताका लागि फिल्मकर्मीलाई आफ्ना फिल्म दर्ता गर्न आह्वान गरिएको हो ।
आउँदो जनवरी अन्तिम साता क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया शुरु गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार वर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरूले अवार्डमा भाग लिन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने अवार्ड दर्ता प्रक्रियामा सहभागी हुने फिल्मबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन गर्ने जनाइएको छ ।
आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीका अनुसार विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गरिने छ । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी रहेका छन् ।
यस्तै अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह–अभिनेता, सह–अभिनेत्री प्रतिस्पर्धी विधा समावेश गरिने जनाइएको छ ।
अवार्ड समारोहमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने निर्णायक टिमले जुरी अवार्ड समेत प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया