भारतको माटो बोकेर भगवान् बनाउन नेपाल आउने कालीगढको कथा

काठमाडौं । ललितपुरस्थित कुपन्डोलमा १७ वर्षीया सोनाम कर यतिवेला भगवान बनाइरहेका छन् । यो सीप उनलाई सिकाइएको होइन । जन्मेदेखि आफ्ना पिता दिलिप बंगालीलाई यही पेशामा लागेको देखेका उनले हेरेरै मूर्ति बनाउन सिकेका हुन् । दुई वर्ष यता पितालाई पक्षघात भएपछि सोनाम र उनका दाजुहरुले नै यो व्यवसाय सम्हालिरहेका छन् । सोनामका कलिला हातले मूर्ति बनाइरहेको देख्दा लाग्छ उनी काँचो माटोलाई मात्र होइन आफ्नो बाबुको सपनालाई पनि आकार दिइरहेका छन् ।

सोनाम खास बंगाली मूलका हुन् । कोलकातामा उनीहरुको माटाको मूर्ति बनाउने कारखाना छ । नेपाल त उनीहरु ‘सिजन’मा मात्रै आउँछन् । मूर्ति बनाउँछन् । जान्छन् । वैशाखदेखि कात्तिकसम्ममा विश्वकर्मा, दुर्गा, काली, लक्ष्मी, गणेश लगायत भगवानका मूर्तिहरु ‘अर्डर’ बमोजिम तयार गरी सक्छन् उनीहरु ।

सोनामका पिता दिलिपले यसरी नेपाल आएर मूर्ति बनाउन थालेको १ दशकभन्दा बढी समय भइसकेकाले प्राय उनीहरुले बनाएको मूर्ति किन्ने नियमित ग्राहकहरु नै छन् । त्यस्ता नियमित ग्राहकहरुले अगाडि नै ‘अर्डर’ र आफूलाई चाहिएअनुसारको मूर्तिको ‘डिजाइन’ पनि दिने गरेको सोनाम सुनाउँछन् । सोनाम थप्छन्, ‘तिनै नियमित ग्राहकहरु भएकाले हरेक वर्ष यहाँ आउनै पर्ने बाध्यता छ नभए व्यापार त खासै राम्रो भइरहेको छैन आजभोलि ।’

माटाका मूर्तिहरुको व्यापार खासै अपेक्षाजनक नभएको उनको कुराबाट प्रष्टियो । थप प्रष्ट्याउनलाई उनले उदाहरण प्रस्तुत गरे, ‘अघिल्लो वर्ष विश्वकर्माको मात्र डेढ सयवटा मूर्तिको अर्डर आएको थियो त्यस्तै, ७ वटा कालीको मूर्ति र लक्ष्मीको १० वटा बन्थ्यो तर, यसपालि विश्वकर्माको ६० वटा, काली र लक्ष्मीको २, २ वटा मात्र अर्डर आएको छ ।’

एउटा साधारण मूर्तिको ८ देखि १२ हजारसम्म लिने उनीहरुले त्यसमा श्रंगार र अलंकारहरु थप्नु परेमा थप पैसा लिने गरेका छन् । भारतबाट परिवारै लिएर नेपाल आउनुपर्ने, ६ महिनासम्म यहीँ श्रम गर्नुपर्ने भएकाले अहिलेको बजारको मागअनुसार आफूलाई यहाँ मूर्ति बनाउँदा खासै फाइदा नभएको बताउँछन् सोनाम । ‘त्यसमाथि मूर्तिको फिनिसिङ गर्नलाई प्रयोग हुने माटो त कोलकाताबाटै ल्याउनुपर्छ हामीले, यहाँ पाइँदैन ।’ मूर्तिको शरीर लेप्ने पोली माटो र औंलाको फिनिसिङ गर्ने इठाल माटो यहाँ नपाइने भएकाले भारतबाटै ल्याउने गरेका छन् उनीहरुले ।

हामीले पुज्ने देउता बनाउन भारतबाट आउनुपर्छ यो परिवारले । हुन पनि नेपालमा सीपालु कालीगढहरुको अभावै छ । मूर्तिकलालाई व्यवसायिक हिसाबले अगाडि बढाउन सके कम्तीमा पनि केही युवाले नेपालमै रोजगारीको अवसर पाउने थिए कि !

हेर्नुहोस लोकपथको लेन्सबाट जे देखियो : 

तस्वीर: बिप्लव जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?