काठमाडौं । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।
दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक सेवा शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो । सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरुलाई सहज हुने कम्पनीले जनाएको छ । “भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भन्नुभयो ।
सो प्रालिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ । पोखरादेखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति रु ७०० तोकिएको छ । प्रालिका एक हजार २०० सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया