काठमाडौं । दशैँ सकिएलगत्तै माहोल तिहारमय बनेको छ । तिहार अर्थात् उज्यालोको पर्व, चेलीमाइतीको सम्बन्धको पर्व । नेपालीहरुले तिहारलाई पनि दशैँ जत्तिकै महत्व दिएर मनाउँछन् । कतिपय अवस्थामा त अझै बढी पनि किनकी तिहार आफैमा एउटा रमाइलो पर्व हो ।
यसमा दियो, झिलिमिली बत्तीहरुले घरआँगन सजाइन्छ, सेलरोटी, अनारसाजस्ता मीठा परिकारहरु बनाइन्छ, साथीभाइसँग रमाइलो गर्दै देउसीभैलो खेलिन्छ अनि माइतीचेलीले एकअर्कासँग माया साटासाट गर्ने मौका पनि पाउँछन् । यस सँगसँगै तिहारको अत्यन्तै महत्त्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोवरधन, माइती पुज्नका निमित्त केही विशेष फूलहरु प्रयोग गरिन्छन् जस्तै : सयपत्री, मखमली र गोदावरी । हाम्रो यस संस्कृतिलाई मौसमले पनि भरपुर साथ दिएको छ किनकी मौसमअनुसार पनि यस समयमा निकै फूलहरु फूल्छन् ।
यी फूलले तिहारमा मानिसको घरआँगनमात्र होइन मन र मनसँगै जीवन पनि फेरेका छन् । त्यसैको एक प्रतिनिधी पात्र हुन्, ज्ञानबहादुर श्रेष्ठ । काठमाडौं नागार्जुन नगरपालिकास्थित इचङ्कुका श्रेष्ठले फूलखेती गरेको ५/७ वर्ष भइसेको छ । १ रोपनी जग्गामा उनले फूल मात्रै लगाएका छन् । पुर्खादेखि खेतीकिसानीमा संलग्न श्रेष्ठले यस अघि आफ्नो सम्पूर्ण जमिनमा धान, गहुँ मात्र फलाउँथे । तर, पछिल्लो समय उनी फूल खेतीप्रति आकर्षित भएका छन् ।
एक रोपनीमा फूल फूलाएर बाँकी १२ रोपनी जग्गामा उनी अझै पनि धान, गहुँ नै फलाउँछन् तर, त्यस १ रोपनीबाट राम्रो फाइदा आएको उनी बताउँछन् । उनका अनुसार १ रोपनीमा रोपेको फूलबाट वर्षमा १ लाखभन्दा पनि बढी फाइदा हुन्छ ।
मन त श्रेष्ठलाई आफ्नो बाँकी जग्गामा पनि फूल नै लगाउने छ तर, काम गर्ने मान्छेको अभावले गर्दा यस योजनालाई मूर्तरुप दिन नसक्ने गुनासो पोख्छन् उनी । ‘यति गर्न त धौधौ छ आफूलाई,’ उनी भन्छन्, ‘यहीँ फूलेका फूललाई बजारसम्म पु-याउने मान्छे पनि छैनन् ।’ त्यसैले ज्ञानबहादुर बारीबाटै फूल बेच्छन् । आफूले एक मुठाको पाँच रुपैयाँमा बेचेको फूल बजारसम्म आइपुग्दा २५ देखि ३० रुपैयाँसम्म पुग्ने उनले सुनाए । फूल व्यापारमा समेत विचौलियाको विगविगी रहेको यहीँबाट प्रष्ट हुन्छ । फेरि उचित बजार व्यवस्थापन नहुनुले पनि फूलको मूल्यमा असर पर्ने श्रेष्ठको भनाइ छ ।
यस वर्ष अघिल्लो वर्षभन्दा कम व्यापार हुने कुराले भने अलि चिन्तित छन् ज्ञानबहादुर । यसपालि अरुवेला भन्दा अगाडि नै तिहार परेकाले फूलहरु राम्ररी फूलि सकेका छैनन् । फेरि दशैँसम्म परेको आकाशे पानीले पनि केही असर गरेको उनले बताए ।
नेपालमा पुष्प व्यापारको ठुलो सम्भावना रहेको तर विविध कारणले गर्दा पुष्प खेतीको व्यापार हुन नसकेको उनको भनाइ छ । सर्वप्रथम उचित ज्ञानको अभाव, बीउविजनको सर्वसुलभ रुपमा उपलब्ध नहुनु, मौसम एवं मलजल सम्बन्धि समस्या साथै उत्पादन भइसकेपछि पनि उचित बजारको अभावका कारण नेपालमा पुष्प व्यवसाय फस्टाउन नसकेको उनको बुझाइ छ ।
नेपालमा केही गर्न सकिँदैन भनेर युवाहरु विमानस्थलमा लाइन लागेर विदेशीरहेको यो बेलामा ज्ञान बहादुरको यो कथा प्रेरणादायी बन्न सक्छ । एक रोपनी जमिनमा फूल रोपेर आफ्नो परिवार सुखी र खुसी साथ पालेका ज्ञानबहादुरबाट आजका युवाहरुले केही सिक्ने कि ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया