तिहारमा ‘अनलाइन सपिङ’ गर्दै हुनुहुन्छ ? कसरी ठगिइन्छन् ग्राहक ?

काठमाडौं । दशैं सकिएलगत्तै नेपालीलाई तिहारको रमझमले छोइसकेको छ । फेरि, तिहारका बेला विशेष सामाग्री जोड्ने परम्परा भएकाले पनि उपभोक्ताले ‘अनलाइन सपिङ’ को सहायता लिने सम्भावना बढी भएको अनुमान लाउन सकिन्छ ।

व्यस्तता र सौखिन जीवनशैलीका कारण नेपाली बजारमा ‘अनलाइन सपिङ’ को ट्रेन्ड ह्वात्तै बढेको हो । आजकल उपभोक्तालाई दोकान चहार्दै सामान किन्ने फुर्सद हुँदैन । फुर्सद भएपनि अनलाइन सपिङ विकल्पमा हुँदाहुँदै आफ्नो समय र उर्जा खर्चिनु झन्झटिलो लाग्छ । स्वभाविक हो ।

एकातिर, घरमै बसीबसी आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउने खुसीले उपभोक्तालाई पुलकित बनाइरहेको छ भने अर्कातिर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला ? भन्ने प्रश्नले पनि उत्तिकै पिरोलिरहेको छ ।
अनलाइन सपिङमार्फत् लाभान्वित हुनेको सङ्ख्या जसरी दिन प्रतिदिन बढ्दै गएको छ, यसबाट ठगिनेको सङ्ख्या पनि उत्तिकै चुलिँदै गइरहेको छ । अतः किनमेल गर्ने र ठगिने दुवै पक्ष समानान्तर रुपमा चलिरहेका छन् ।

कसरी ठगिइन्छन् ग्राहक ?

पहिलो कुरा त, अनलाइन सपिङ गरिएका प्राय सामान आफैमा गुणस्तरहीन हुने ग्राहकको गुनासो छ ।

यद्यपी कुनै अवस्थामा गुणस्तरीय ब्रान्डकै सामान भएपनि कमसल निर्माण सामाग्री प्रयोग गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिन्छ । त्यसैगरी, उच्च ब्रान्डको ‘डुप्लिकेट’ प्रोडक्ट निर्माण गरेर कम दाममा पनि बेचिने उपभोक्ताले बताए । आफ्नो रोजाइको ब्रान्डको सामान कम दाममा पाउँदा उपभोक्ता पनि मख्ख पर्दै किन्छन् तर, उक्त सामान प्रयोग गरेपछि मात्र वास्तविकता उनीहरुको सामू आउँछ ।

उपभोक्ताहरु विशेष गरेर कपडा, जुत्ता, ब्यागको मामिलामा ठगिइन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान ‘रियल’मा वेग्लै रङ्ग, बनावट र गुणस्तरको हुन सक्छन् । कतिपय अवस्थामा भने अनलाइन स्टोर आफैले आफ्नो ‘टर्म एण्ड कन्डिसन’ अनुरुप काम गरेको पाइँदैन ।

अनलाइन सपिङ गर्न नजानेको पो हो कि ?

अनलाइन सपिङ कसरी गर्ने भनेर उचित जानकारी नभएकाले पनि ठगिने सम्भावना निम्त्याएको हुनसक्छ । इन्टरनेट जति उपयोगी छ उति नै घातक पनि । त्यसैले आफूलाई ठग्न, लुट्न च्याउसरि जुर्मुराएका अनलाइन सपिङ स्टोरको पहिचान बेलैमा गर्न जरुरी छ । अनलाइन सपिङ गर्नुअघि ध्यान दिनुपर्ने केही टिप्सहरु यस प्रकार छन् :

– आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउने । पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको राख्ने ।

– आफूले सामान खरिद गर्न लागेको स्टोर कतिको सुरक्षित छ भनेर अगाडि नै सर्तक हुने । शंकास्पद साइटहरुबाट टाढै रहने ।

– साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्ने । नाम चलेका, धेरै वर्षदेखि सेवा पु¥याउँदै आएका साइटहरुको मात्र प्रयोग गर्ने ।

– सामान किन्नु अघि भुक्तानी गर्ने, रद्द गर्ने, फिर्ता गर्ने र रिफन्ड गर्ने नियमहरु राम्रोसँग बुझ्ने ।

– सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पु¥याउने ।

– साइटको विश्वसनीयताका बारेमा ढुक्क भएपछि मात्र वित्तीय लेनदेनको कारोवार अघि बढाउने ।

– पहिलो पटक अनलाइन सपिङ गर्दै हो भने सकेसम्म डेबिट, क्रेडिट कार्डको प्रयोग नगर्ने । नगदमार्फत् भुक्तानी गर्ने ।

– अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्ने ।

– आफूले पैसा तिरिसकेपछि त्यसको रसिद, किनेको सामानको बिल लगायत विविध सामाग्री प्रमाणस्वरुप सुरक्षित राख्ने ।

– स्प्यामर र फिशरले विभिन्न खराब सफ्टवेयरमार्फत् व्यक्तिगत जानकारीमा हस्तक्षेप गर्ने भएकाले अनलाइन किनमेलको प्रक्रिया पूरा गरिसकेपछि सबै वेब ब्राउजर कुकीजहरू क्लियर गर्ने र पिसी बन्द गर्ने ।

सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ । नेपालका केही भरपर्दा अनलाइन सपिङ साइटहरु :

दराज डट कम

स्थापना हुँदा केमु डट कमका नामले परिचित दराज डट कम अहिले नेपालकै उत्कृष्ट अनलाइन सपिङ स्टोरका रुपमा स्थापित छ । यहाँ इलेक्ट्रोनिक्स, सौन्दर्य र फेसनसँग सम्बन्धित सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । दराज अनलाइन स्टोर सर्वा्धिक लोकप्रिय छ भन्ने कुरा यसको फेसबुक पेजमा भएको ११ करोड लाइक्सले पनि पुष्टि गर्छ ।

हाम्रो बजार डट कम

हाम्रो बजारले व्यापार गर्ने एउटा प्ल्याटफर्म सिर्जना गरिदिएको छ । यहाँ जो कोहीले पनि आफ्ना नयाँ, पुराना सामाग्रीहरु बेच्न सक्छन् । सरल वाक्यमा भन्दा, हाम्रो बजार बिक्रेता र ग्राहकबीचको पुल हो । यहाँ इलेक्ट्रोनिक्स, अटोमोबाइल लगायतका सामाग्रीहरु उपलब्ध छन् । बिक्रेता र ग्राहकले एकअर्कासँग सम्पर्क गरेर सामानको मूल्य निर्धारण गर्दै किनबेच प्रक्रिया पूरा गर्छन् । यसको फेसबुक पेजमा ३ लाखभन्दा बढी लाइक्स छ ।

सस्तो डिल डट कम

कपडा, इलेक्ट्रोनिक्स, एक्सेसरिज, खाना र ड्रिंक्स आइटम अदिका लागि सस्तो डिल नेपालकै उत्कृष्ट अनलाइन स्टोरमध्ये एक मानिन्छ । सामान अर्डर गरिसकेपछि आफूले प्राप्त गरुन्जेलको प्रक्रियाका बारेमा ग्राहकलाई सूचित गराउनु अर्थात् ‘प्रोडक्ट ट्रयाक’ गर्ने सस्तो डिलको यूनिक फिचर हो । यसको फेसबुक पेजमा भने करिब ६ लाख लाइक्स छ ।

नेप बे डट कम

यस साइटले सामान किन्ने वा बेच्ने दुवै खालको सेवा प्रदान गर्दै आएको छ । यहाँ कपडा, जुत्ता, पुस्तक, इलेक्ट्रोनिक्स, एक्सेसरिज, फर्निचर्स लगायत विभिन्न सामाग्रीहरु उपलब्ध छन् । नेप बे डट कम किनमेलका लागि मात्र नभएर समाचार, घटनाक्रम, डिल, सामुदायिक फोरम, पोल, क्विज, भिडियो र प्रतियोगिताहरूको लागि पनि लोकप्रिय प्ल्याटफर्म हो । साथै, यस स्टोरले किराना खरिदारी सुविधा पनि प्रदान गर्दछ । फेसबुकमा करिब ३ लाख लाइक्स भएको यस साइटलाई धेरै राम्रा समीक्षा गरिएको छ ।

मुञ्चा डट कम

मुञ्चा डट कम मुञ्चा हाउसको अनलाइन संस्करण हो । यद्यपी, यसलाई अनलाइन साइटकै रूपमा वर्गीकृत गर्न सकिन्छ ।
यहाँ लेडिज तथा जेन्ट्सका कपडा, जुत्तादेखि लिएर एक्सेसरिज, घरेलु उपकरण आदिजस्ता आवश्यक सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । यसको फेसबुक पेजमा करिब साढे २ लाख लाइक्स छन् ।

फुडमान्डु डट कम

सरसामान मात्र नभएर परिवारजनसँग बसेर मीठामीठा परिकार खाने चाड पनि हो तिहार । त्यसैले घरमै बनेका परिकार खाएर थकित जिब्रोलाई छुट्टै स्वाद दिने भरपर्दो माध्यम बन्न सक्छ फुडमान्डु । फुडमान्डु खाना डेलिभर गर्ने नेपालकै पहिलो अनलाइन साइट हो । यसको वेबसाइट वा एपको माध्यमबाट आफूलाई मनपरेको रेस्टुरेन्टबाट खाना अर्डर गर्न सकिन्छ ।

यसका अतिरिक्त भकारी डट कम, भाटभटेनी अनलाइन डट कम, सोचेको डट कम आदिजस्ता साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?