गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार देशमा सुशासन र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा गोरखाको आरुघाट गाउँपालिका–१ र २ को संयुक्त आयोजनामा आज मान्बुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेकपा नेतृत्वको सरकार शक्ति र पहुँचका आधारमा नभई कानूनी राज्यमा विश्वास गर्ने भएकाले कानूनको नजरमा सबैलाई समान हैसियतमा राखिने बताउनुभयो ।
“अपराध गर्ने जोसुकै भए पनि सरकार कानूनी दायरामा ल्याउन प्रतिबद्ध छ भन्ने कुरा पछिल्लो घटनाक्रमले देखाएको छ”, उहाँले भन्नुभयो, “यसले अहिले नेपाली जनतामा कम्युनिष्ट सरकारप्रतिको विश्वास र भरोसा पनि बढाएकोे छ ।” बाह्र वर्ष पहिलेदेखि लुकेका आपराधिक घटनालाई समेत अनुसन्धानको दायरमा ल्याएर कम्युनिष्ट सरकारले अपराध गर्ने कसैलाई छुट दिँदैन भन्ने प्रमाणित गरेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।
उहाँले विकास निर्माणका काममा सरकारले गति बढाउन शुरु गरेको भन्दै नागढुङ्गा सुरुङ मार्गको शिलान्यास त्यसैको उदाहरण भएको उल्लेख गर्नुभयो । सडक मार्गको विकासबाट ग्रामीण क्षेत्रको विकासको ढोका खुल्ने भएकाले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँले बताउनुभयो ।
“कम्युनिष्ट सरकारप्रति नेपाली जनताको बढी नै अपेक्षा छ, छिटो विकासले गति लियोस् भन्ने जनताको चाहना छ”, श्रेष्ठले भन्नुभयो, “सरकार पनि जनताको चाहनाअनुसार अघि बढ्न प्रतिबद्ध भएर लागिपरेको छ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया