परापूर्व कालमा जसले ओखर फुटाएर त्यसभित्रको दिउल मानामा भरी एक माना पारेर आफ्नी आमालाई खुवाउँछ ऊ मात्री ऋणबाट मुक्त हुन्छ भन्ने चलन थियो ।
तिहारमा दाजुभाइलाई दिइने विभिन्न प्रकारका भाइ मसलामा ओखर पनि एक हो । ओखरलाई भाईमसलामा किन समावेश गरिन्छ भन्ने हाम्रो जिज्ञासामा प्रा.डा देवमणी भट्टराई भन्नुहुन्छ, ‘परपूर्व कालमा जसले ओखर फुटाएर त्यसको दिउल मानामा भरेर एक माना पारेर आफ्नी आमालाई खुवाउँछ ऊ मात्री ऋणबाट मुक्त हुन्छ भन्ने चलन थियो ।’
उहाँ अगाडि थप्नुहुन्छ, ‘यस भनाइले पनि प्रष्ट्याउँछ ओखर कति महत्त्वपूर्ण हुन्छ भनेर त्यसैले चेलीले पनि आफ्नो माइतीलाई यस्तो महत्त्वपूर्ण र उपयोगी वस्तु खुवाउने हिसाबले ओखर दिइएको हुनसक्छ ।’
भाइमसलामा मात्र नभएर भाइटिकामा ओखरलाई ‘राक्ष्स’को प्रतीक मानेर पूज्ने र फुटाउने त्यसपछि मात्रै दाजुभाइलाई टिका लगाइदिने चलन छ । यस विषयमा प्रा.डा.भट्टराई भन्नुहुन्छ, ‘ओखरको आवरण साह्रो हुने भएकाले यसलाई राक्षसजस्तै कठोर मानेर फुटाउने र फाल्ने गरिन्छ । आफ्ना दाजुभाइलाई नकारात्मक शक्तिले प्रभाव नपारोस् भनेर यसो गरिएको हो ।’
हाम्रो पारम्परिक विश्वास र आस्था त छँदै छ, ओखरलाई स्वास्थ्यको हिसाबले हेर्ने हो भने यसमा पर्याप्त मात्रामा एनर्जी, प्रोटिन, क्याल्सियम आदिजस्ता तत्त्व पाइने भएकाले मुटु, हड्डी आदि सम्बन्धी रोग लाग्न दिँदैन भनेर चिकित्सकहरुले भन्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया