महाकवी देवकोटाको जन्मजयन्ती : स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइंदै

काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइंदै छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उनका मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू प्रसिद्द छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ ।

गाई तिहारे औंशी अर्थात् लक्ष्मीपूजाका दिन जन्मेका हुनाले उनको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो। उनको घरको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो। त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु। तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए। देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए।

उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे। आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो। उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए।

देवकोटा बहुमुखी प्रतिभका धनी एवम् असाधारण लेखक थिए; जसले आफ्नो दस वर्षको उमेरदेखि कविता लेखनको शुरूवात गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन् । कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्।

देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गराए।  उनि वि. सं. २०१३ सालमा नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैका पालामा नेपालको ठूलो अनि पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

बहुमुखी प्रतिभका धनी देवकोटाको निधन वि सं २०१६ साल भएको हो । ५० वर्षको उमेरमा निधन भएपछिका हरेक वर्ष लक्ष्मी पुजाका दिन उनको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?