फूलमा बाँके आत्मनिर्भर

सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ ।

बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन् । नेपालगञ्जस्थित हिमाली नर्सरीले मात्र झण्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको नर्सरीका सञ्चालक अङ्कित श्रेष्ठ बताउनुहुन्छ । उहाँकाअनुसार दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले अहिलेसम्म दुई क्विन्टल फूलको माग गरिसकेका छन् ।

यहाँ उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय छन् । प्रतिकिलो रु ४०० का दरले सयपत्री फूल बिक्री हुँदै आएको पुष्प व्यवसायी बिन्दु चर्तीमगर बताउनुहुन्छ । दुई हजार सयपत्री र दुई हजार मखमली फूलका माला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तिहारमा झण्डै रु १६ लाखको फूलका माला बिक्री गर्ने मेरो लक्ष्य छ ।” कोहलपुर, दाङ र पाल्पाबाट फूलको माग रहेको चर्ती फ्लोराकी सञ्चालकसमेत रहनुभएकी चर्तीमगरले बताउनुभयो ।

पछिल्लो समय यहाँ मखमली तथा सयपत्री फूलको खेतीमा किसानको आकर्षण बढेको छ । सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोजलगायतमा फूल प्रयोग हुने गरेको छ । होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालिएपछि अहिले फूलको माग बढेको व्यवसायी चर्तीमगर बताउनुहुन्छ । “तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूल बाँकेमै उत्पादन भएका छन्, जसले गर्दा भारतीय फूल विस्थापित भएका छन्”, उहाँले भन्नुभयो । आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेका उहाँको भनाइ छ ।

फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन् । सबैभन्दा बढी सयपत्री तथा मखमली फूलको कारोबार हुने व्यवसायीको भनाइ छ । नेपालगञ्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

नेपालगञ्ज नाकाबाट आर्टिफिसियल (कृत्रिम) माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्याङ्क भन्सार कार्यालयसँग नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा रु चार लाख ५६ हजार ६९४ र आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच लाख ८९ हजार ८३३ बराबर प्लास्टिकका कृत्रिम माला नेपाल भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?