एउटा घतलाग्दो सम्बन्ध : ५० वर्षदेखि यसरी सघाउँदैछ कुकुरले नेपाल प्रहरीलाई

‘जब तिमीलाई अगाडि हेर्न डर लाग्छ र तिमीले पछाडि फर्किन सम्भव हुँदैन । आफ्नो छेउमा हेर । म हुनेछु ।’यो वाक्य महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा झुण्ड्याइएको एक चित्रमा लेखिएको छ । चित्रमा प्रहरी र कुकुरको आत्मीयता देखाइएको छ । कुकुरले प्रहरीलाई माथिको कथन भनिरहेको छ ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कुकुरको प्रयोग गरेको ५ दशक पुगेको प्रहरी नायव उपरीक्षक रामचन्द्र सत्याल बताउँछन् । वि सं २०२६ सालमा पहिलोपटक विदेशबाट ४ वटा कुकुर नेपाल प्रहरीले नेपाल भित्र्याएको थियो ।

त्यसपछि क्रमशः थप्दै जाँदा अहिले देशभरमा ८५ वटा तालिम प्राप्त कुकुरहरु छन् । कुकुरले पनि प्रहरीको ‘बेस्ट फ्रेन्ड’ बनेर अनुसन्धानमा सघाइरहेको सत्याल बताउँछन् ।
नेपाल प्रहरीले कुकुरहरुको तालिम र रेखदेखका लागि छुट्टै शाखा स्थापना गरेको छ । महाराजगञ्जस्थित ‘नेपाल क्यानिन डिभिजन’ शाखामा कुकुरलाई तालिम दिनेदेखि गाँस, बास र मनोरञ्जनको वातावरण समेत प्रदान गरिएको छ । सत्यालका अनुसार तालिम केन्द्रमा ८ ब्रीडका ४४ वटा कुकुर छन् । त्यसका अतिरिक्त देशका अन्य प्रहरी कार्यालयमा गरी ८५ वटा तालिम प्राप्त कुकुर प्रहरीसँग छन् ।

‘ती तालिम प्राप्त कुकरले उद्धार गर्ने, लागूऔषध पत्ता लगाउने, विस्फोटक पदार्थ पत्ता लगाउने र अपराध अनुसन्धानमा मद्दत पु¥याउने गरेका छन्,’ प्रहरी नायव उपरीक्षक सत्याल भन्छन्, ‘यसैका आधारमा केन्द्रमा रहेका कुकुरलाई ४ वर्गमा विभाजन गरिएको छ ।’

चिन्नका लागि प्रत्येक कुकुरको फरक फरक नाम राखिएको छ । प्रत्येक कुकरको जिम्मेवारी छुट्टाछुट्टै प्रहरीलाई दिइएको छ । यसो गर्दा एक प्रहरीको भागमा एउटा कुकुर पर्दछ । उसलाई खेलाउने, तालिम दिने, अह्राउनेदेखि लिएर सम्पूर्ण जिम्मेवारी त्यही एउटा प्रहरीले निभाउने गरेको सत्याल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?