‘तिमीहरुलाई त क्या सजिलो छ, दाजुबहिनी दुवैजनाको पोस्टिङ काठमाडौंमा, घर पनि यहीँ,’ चाडवाड नजिकिँदै गर्दा उज्वलका साथीहरु उनलाई यसै भन्छन् ।
उज्वल सिंह काठमाडौंस्थित दरबार मार्ग वृत्तमा प्रहरी निरिक्षकका रुपमा कार्यरत छन् । त्यस्तै, उनकी बहिनी प्रतिभा सिंह अहिले प्रहरी कार्यालय स्वयंभुको महिला सेलमा छिन् । पोस्टिङ राजधानीमा हुनुले पनि उनीहरुको व्यस्तता झन् बढाइदिन्छ । भने जस्तो सजिलो छैन विदा पाउन ।
घरपरिवार र कार्यक्षेत्र एउटै ठाउँ हुँदाहुँदै पनि सबैजना एकैसाथ बस्न, रमाइलो गर्न नपाउनुको पीडा उज्वल र प्रतिभालाई मात्र थाहा छ । बर्दीको जिम्मेवारी निभाउँदा निभाउँदै कहिलेकाहीँ उनीहरु पारिवारिक जिम्मेवारीबाट विमुख हुनुपर्छ । आफ्नाआफन्त र आफैलाई भन्दा पनि ‘ड्युटी’लाई सम्झनुपर्छ ।
यसो हेर्दा आजभोलि उनीहरुको जीवनमा ‘फौजीलाई कुन हो दशैँ कुन हो चाड तिहार’ गीत जीवन्त भएको छ ।
यसपालि दशैँमा आफ्नो ड्युटी सकिएपछि पायक परेको समयमा टिका थापेका उनीहरु भाइटिका पनि त्यसैगरी मनाउने योजनामा छन् । देशभरि सबै दाजुभाइ दिदीबहिनी टिका लगाएर, मीठोमसिनो खाएर एक अर्कासँग रमाइलो गरिरहँदा उनीहरु टिका लाउनासाथ ड्युटीमा तैनाथ हुनुपर्नेछ त्यसो गरे मात्र ती सारा माइतीचेलीले सुरक्षित वातावरणमा तिहार मनाउन पाउनेछन् ।
त्यसो त बर्दीको ओजले आफूसँग जिम्मेवारीको चाङ पनि लिएर आउँछन् भन्ने कुरा राम्रोसँग थाहा थियो उज्वल र प्रतिभालाई ।
बुबा पूर्व प्रहरी भएकाले समयसमयमा हुने पोस्टिङ र बसाइ सराइ, व्यस्तता, जिम्मेवारी लगायत प्रहरी पेशाको प्रकृतिसँग चिरपरिचित थिए दुवैजना । त्यसैले प्रहरी सेवामा लाग्नु अघि नै दाजुबहिनीले ‘धेरै आशा नराख्ने’ निधो गरेको बताउँछन् उनीहरु ।
‘छुट्टि पाइन्छ कि भनेर आश ग-यो तर, पछि पाइएन भने मन खिन्न हुन्छ,’ उज्वल भन्छन्, ‘बरु केही आश नगरी बसेको वेला परिवारसँग थोरै समय बिताउन पाइयो भने पनि निकै खुसी लाग्छ ।’
तिहारसम्बन्धि कुराकानीलाई बिट मार्दै हामीले प्रश्न ग¥यौं, ‘सानैदेखि दुवैजनाको प्रहरीमा लाग्ने सपना थियो कि ?’
‘हैन !’ एकै स्वरमा दुवैजनाले भने ।
अमेरिका जाने तयारीमा रहेका उज्वल भिसा नलागेपछि देशमै केही गर्छु भन्दै जुर्मुराएका रहेछन् । सुरक्षा सेवामै लाग्छु भनेर चाहिँ उनलाई काठमाडौं टु महेन्द्रनगर कुद्ने डिलक्स बसमा दोहो-याइ, ते-याइ देखाउने भुवन केसी अभिनित चलचित्र ‘म तिमीविना मरिहाल्छु’ ले प्रेरित गरेको रहेछ । कुरा आजभन्दा करिब ५, ६ वर्ष अघिको हो काठमाडौंबाट आफ्नो घर जाँदै गर्दा बसमा सो फिल्म चल्दै थियो जसमा भुवन केसी आर्मीको भूमिकामा थिए । घर पुगेर उज्वलले बुबालाई भने, ‘बुबा म त आर्मीको लागि ट्राइ गर्नुप-यो । विदेश जान्छु भनिरहेको छोरा एकाएक देशको सेवामा लाग्छु भनेको सुनेर परिवार पनि सन्तुष्ट भए ।
पछि उज्वलको सोच परिवर्तन भयो र उनले आफ्नो बाटोलाई प्रहरी सेवातर्फ मोडे ।
प्रहरीमा लाग्नुअघि उनले वर्षौं कोचिङ क्लास लिए । खरदार, सुब्बा लगायत सरकारी जागिरहरुको परीक्षा पनि दिए । यसो चाहिँ परीक्षा दिने अभ्यास होस् भनेर गरेको उनी बताउँछन् । ‘पछि प्रहरीको परीक्षा दिँदा समस्या नहोस्, प्रेसर ह्यान्डल गर्ने बानी होस् भनेर खरदार, सुब्बा जेजे खुल्छ सबैको फारम भरें, परीक्षा दिएँ,’ उज्वल भन्छन् ।
प्रतिभाको ‘टर्निङ प्वाइन्ट’चाहिँ उज्वलको तयारीसँग जोडिएको छ । दाजु हरेक बिहान रनिङको लागि गएको देखेर एकदिन प्रतिभाले भनिन्, ‘दादा म पनि तँसँग रनिङमा जान्छु’ । त्यही दिनदेखि दाजुबहिनी सँगै रनिङमा जना थाले । विस्तारै प्रतिभा उज्वलसँगै ‘कोचिङ क्लास’ पनि धाउन थालिन् ।
आफ्नै बुबा प्रहरी भएर पनि अलिकति प्रभाव परेको हो ? भन्ने प्रश्नमा उनीहरु भन्छन्, ‘डाक्टरको छोरा डाक्टर नै हुन्छ भनेको यत्तिकै होइन रहेछ, धेरथोर बुबाकै प्रभाव पनि हो ।’
प्रहरी सेवामा लाग्नुको श्रेय आफ्ना बुबा रिटायर्ड डिएसपी बल्लवबहादुर सिंहलाई दिन्छन् दुवैजना । त्यसैले त अमेरिका जाने सपना बोकेका उज्वल अहिले राष्ट्रसेवामा लागेका छन् । बुबाको प्रभाव उज्वलमा मात्र होइन प्रतिभामा पनि परेको छ त्यसैले, समाजसेवामा लाग्ने सपना सजाएर बिएसडब्लु गरेकी प्रतिभा अहिले महिला सेलमा कार्यरत छिन् ।
२०७२ सालमा उज्वल र प्रतिभा एकसाथ प्रहरीको असइ पदमा नियुक्त भएका हुन् । उज्वलले त्यसपश्चात् इन्स्पेक्टरमा नाम निकाले, प्रतिभाले सकिनन् । यद्यपि, त्यसै दिनदेखि उनीहरु बर्दीको जिम्मेवारी निभाइरहेका छन् । एउटै क्षेत्रमा काम गर्ने भएकाले उनीहरुलाई सल्लाहसुझाव आदनप्रदान गर्न सजिलो भएको छ । दुवैजनालाई डो¥याउन बुबाको हात त छँदै छ ! आमाले पनि दुवैजनालाई भरपुर सपोर्ट गरेकी छिन् । ‘मामु त हामी भन्दा पनि शिक्षित हुनुहुन्छ, उहाँले दुईवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ,’ गर्विलो आवाजमा उज्वल भन्छन् । ‘भलै गणित र प्रविधिका कुरामा हामी आफूलाई जान्ने सम्झुँला तर, जब व्यवहारिक कुरामा हामी अलमलिन्छौं हामीलाई मामुले नै सम्हाल्नुहुन्छ,’ प्रतिभा थप्छिन् ।
तथ्यांक हेर्ने हो भने दैनिक ८ सयको हाराहारीमा यूवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन् । गाउँ शून्य प्राय भएको छ ।
दशैँ र तिहारको माहौलले समेत गाउँ र बस्तीहरुलाई उमंगित पार्न सकेको छैन । होनहार यूवाहरुको डरलाग्दो पलायनबाट र .. का आमाबुबा जानकार छन् । त्यसैले दशैँ तिहार जस्ता महान् पर्वमा छोराछोरीले समय दिन सकेनन् भनेर उनीहरुलाई केहि नराम्रो पक्कै लाग्छ । तर जब देशभरका नागरीकले सभ्य वातावरणमा चाडवाड मनाउन पाउँछन् त्यो देख्दा निकै राहत र आनन्दित तुल्याउँछ उज्वल र प्रतिभाका आमाबुबा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया