तिहारअघि नछुट्ने भए भीआईपी जुवाडे

काठमाडौँ– महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने पक्का भएको छ ।

उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन नसकेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि सोमबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो।

तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रेखाले आइतबार अपरान्ह ३ बजे सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरी छुटाउन आग्रह गरेलगत्तै सर्वोच्चले उनीहरुलाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका नाममा आदेश जारी गरेको थियो।

त्यसपछि २४ घण्टाभित्रै उनीहरुलाई प्रहरीले सोमबार कार्यालय समयमै उपस्थित गराएको थियो । तर, सर्वोच्चले ११ देखि ३ बजेसम्म मात्रै कारवाही चलाउने भन्दै उनीहरुलाई फर्काइदिएको छ ।

शनिवार राती ती जुवाडेहरु रङ्गेहात पक्राउ परेका थिए भने उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?