काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।
“नेपालको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छिन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ ।
नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले तिहारको अवसरमा पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया