११ बुँदे सम्झौतापछि कृष्णनगरको तनाव हट्यो, कर्फ्यु कायमै

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लामो छलफलपछि दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको थियो । ११ बुँदे सम्झौतामा दोषीमाथी कारवाही, घटनाको छानविन, सदभाव कायम राख्ने लगायतका विषय समेटिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवादकै क्रममा बिहीबार स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । बिहीबार नै कर्फ्यूको अवज्ञाका क्रममा एकजना भारतीय नागरिक सुरज पाण्डेको गोली लागेर ज्यान गएको थियो । अन्य केही सर्वसाधारण र प्रहरी समेत घाइते भएका थिए ।

यद्यपि विवाद साम्य भएपनि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ ।

छलफलपछिलक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको थियो ।
लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?