काठमाडौँ । प्रहरीले राजधानीको टोखाबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ समेत रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीका पीएसओ राजेन्द्र शाही जुवाको खालबाट समातिएका हुन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहीसहित ८ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले पक्राउ पर्नेमा राजेन्द्र शाही, सोमबहादुर मगर, बुद्धिलाल मगर, जित गुरुङ, मानकाजी गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको पुष्टि गरे ।
तर उनले शाही प्रधानमन्त्रीको पीएसओ रहेको बारे आफूलाई जानकारी नरहेको बताए । स्रोतले भने सेनाका मेजर उनी हाल प्रधानमन्त्रीका पीएसओको रुपमा कार्यरत रहेको बतायो ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
यसअघि महाराजगन्ज प्रहरीले २५ भीआइपी जुवाडेलाई पक्राउ गरेको थियो । सो विषय अहिले प्रहरीभित्र र बाहिर नै चर्चाको विषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया