काठमाडौँ । आगामी मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।
कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
जसअनुसार राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरिएको पनि राप्रपाले जनाएको छ ।
देशभर रिक्त रहेका स्थानीय तहहरु अन्तर्गत राप्रपाले नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन समेत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया