काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि सांसद कृष्णकुमार श्रेष्ठले आज ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको हो । सांसद श्रेष्ठले आज त्रिवि शिक्षण अस्पतालमा पुगेर एक महीनाको तलबबापतको रकम जनगायक जीवन शर्मालाई हस्तान्तरण गर्नुभएको हो । “जनताको पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा सबैले साथ दिनुपर्छ,” सांसद श्रेष्ठले भन्नुभयो ।
शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।
देउसीभैलोको रकम घाइतेलाई
जिल्लाको भानु नगरपालिका–१३ चन्द्रावतीस्थित मिर्लुङ स्टार जेभियर्स विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर सङ्कलित रकम घाइतेको उपचारका लागि सहयोग गरेका छन् ।
तिहारको अवसरमा विद्यार्थीले गाउँमै देउसीभैलो खेलेर सङ्कलन गरेको एक लाख ४७ हजार गत वैशाख १ गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका सोही ठाउँका धीरेन्द्र अधिकारीको उपचारका लागि सहयोग गरेका हुन् । दुर्घटनामा घाइते हुनुभएका अधिकारीको काठमाडौँमा उपचार भइरहेको छ ।
तिहारको अवसरमा विद्यार्थीले चन्द्रावती, टुहुरेपसल, पड्केपसल, लाङ्गावारी, स्याउली बजार, पञ्चनगर, शेपाबगैँचालगायतका ठाउँमा पुगेर देउसीभैलो खेलेका थिए । विद्यार्थीहरुले भैलो खेलेर सङ्कलन गरेको रकम घाइतेलाई सहयोग गरेर उदाहरणीय काम गरेको विद्यालयका प्रिन्सिपल लक्ष्मी राजभण्डारी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “विद्यार्थीले त भैलो गरेर सङ्कलन गरेको रकम घाइतेलाई सहयोग गरेर सामाजिक काम गरेका छन् ।”
स्थानीयवासी एवं भानु नगरपालिका कार्यपालिकाका सदस्य देव भुजेलले भैलो खेलेर सङ्कलन गरेको पैसा फजुल काममा खर्च गर्ने परम्परालाई तोड्दै विद्यार्थीले राम्रो काम गरेको बताउनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया