महरा जेल चलान

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

आइतवार सरकारी वकिलका तर्फबाट सह न्यायाधीवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए।

सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी, शेरबहादुर केसी लगायतले बहस गरेका थिए।

 

जिल्ला अदालत काठमाडौंँमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए । थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा महरा रुँदै प्रहरीको भ्यान चढेका थिए ।

महरा विरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो।

यो समाचार पढ्नुभएको थियो ?

महराको थुनछेक बहस सकियो, आदेश केहिबेरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?