काठमाडौं आगामी । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ ।
आज उमेदवारी घोषणा गर्दै गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी , साझा पार्टीले रजनी केसीलाई उठाउने निर्णय गरिसकेको छ ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर गएको फागुन १५ गते निधन भएपछि कास्की क्षेत्र नम्वर २ रिक्त छ । कास्की २ सहित देशका विभिन्न स्थानमा रिक्त रहेका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया