भरतपुर अस्पतालकाे पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाई

काठमाडौं । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने उनीहरुले नै खर्च गरेर बिरामीको हेरचाहा गर्दै आएका छन् ।

गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी रहेका छन् । गृह सञ्चालन गर्न कर्मचारीको बाहेक बिरामीको सङ्ख्याको आधारमा हरेक महिना ४० हजारदेखि ६० हजारसम्म खर्च हुने गर्दछ ।
कुपोषण भएका पाँच वर्ष भन्दा तलका बालबालीका उपचारका लागि गृहमा ल्याउने गरिन्छ । कुपोषणकै कारण कम तौल भएका ती बालबालीकालाई पौष्टिक आहारा खुवाउने र उनीहरुका आमालाई घरमानै पाउने खाद्यान्नबाट कसरी पोषणयुक्त खाना बनाउन सकिन्छ भनेर तालीम दिइने काफ्लेले बताउनुभयो ।

बजेट अभाव भएपछि साउनयता आफुहरुकै निजी खर्च र उधारोमा सामान ल्याएर बिरामी राख्दै आएको काफ्लेको भनाइ छ । गत वर्ष १५३ जना बालबालिका भर्ना भएको केन्द्रमा यसवर्ष हरेक महिना १० जना नयाँ भर्ना गर्ने लक्ष्य लिइएको थियो । यसवर्ष बजेट नभएपछि लक्ष्य अनुसार भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । हाल केन्द्रमा तीनजना मात्र बालबालिका रहेका छन् । १० श्ययाको क्षमता भएको भए पनि १५ जना सम्मलाई उपचार गरिँदै आएको थियो ।

अस्पतालका लेखा प्रमुख भृगु खनालका अनुसार कार्यक्रम सुनिश्चितताको पत्र प्राप्त भएमा अस्पतालको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि पत्रसमेत प्राप्त नहुँदा समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बजेट छुट भएको जानकारी भएलगत्तै स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखामा पुगेर जानकारी गराएको तर हालसम्म निकासा हुन नसकेको बताउनुभयो ।

अस्पतालका तर्फबाट आवश्यक पहल भइरहेको उहाँले जानकारी दिनुभयो । सन् २०१२ अप्रिल २२ तारिखमा भरतपुर अस्पताल, नेपाल युथ फाउण्डेशन र दियालो परिवार नारायणगढले संयुक्त रुपमा गृह संञ्चालन गरेको थियो । त्यसको पाँच वर्षपछि गैरसरकारी संस्थाले गृहको सञ्चलनको जिम्मेवारी अस्पताललाई दिएका थिए ।

गृहमा आउने बालबालिकामा ८० देखि ८५ प्रतिशत उपचार सफल हुने गरेको जनाइएको छ ।

पानको व्यापार

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहनुभएको छ । त्रिपाठी स्टेशनरी व्यापारसँगै पत्रकारिता क्षेत्रमा लाग्नुभएको हो ।

विसं २०५४ मा ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा स्टेशनरी शुरु गरेसँगै उहाँले पत्रकारिता पनि सँगै अगाडि बढाउनुभयो । तत्कालीन समयमा पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका त्रिपाठीले झण्डै २२ वर्षसम्म सूचनाको स्रोत बनेर मुग्लिनमा रहँदै आउनुभएको छ ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा हुने ठूला सवारी दुर्घटनामा राष्ट्रिय र स्थानीयस्तरका सञ्चारमाध्यमका साझा संवाददाताका रुपमा उहाँले सघाउँदै आउनुभएको छ । पछिल्लो समय उहाँकै प्रेरणाले मुग्लिन बजारमा पत्रकार हुने क्रम भने बढ्दै गएको छ । अहिले सो क्षेत्रमा एक दर्जन पत्रकार क्रियाशील छन् । उनीहरुलाई सङ्गठित गरेर आफ्नै नेतृत्वमा उहाँले ईच्छाकामना पत्रकार समूहसमेत बनाउनुभएको छ ।

भरतपुरको अदब मिडिया हाउसमा भेटिनुभएका त्रिपाठीले भन्नुभयो, “पत्रकारिता र स्टेशनरी व्यापार भन्दा पानको व्यापारबाट सन्तुष्ट छु ।” उहाँले आफ्नै स्टेशनरी पसल अगाडि घुम्तीमा गत भदौबाट पान पसल शुरु गर्नुभएको हो । पान बनाउने काम उहाँ र श्रीमती शान्ताले आलोपालो गर्दै आउनुभएको छ । सोही ठाउँमा यसअघि पानको व्यापार गर्दै आउनु भएका शिवशङ्कर जैसवालसँग सीप सिकेर उहाँले व्यापार थाल्नु भएको हो ।
पान पसलमा सुर्तीजन्य पदार्थसँगै पानी, फास्टफुडसँगै चिसो पेय पदार्थ, जुस, चक्लेटलगायतका सामग्री बिक्री गर्दै आउनुभएको छ । त्रिपाठीले भन्नुभयो,“दैनिक पाँचदेखि आठ हजारसम्म व्यापार हुन्छ, । महिनामा न्यूनतम ६० हजार बचाउँछु ।”

स्टेशनरी पसलबाट भने उहाँ सन्तुष्ट हुनुहुन्न । दैनिक दुई हजार हाराहारी व्यापार हुने स्टेशनरी व्यापारमा नाफा पनि कम हुने गरेको उहाँले बताउनुभयो । सामान्यदेखि ठूला घरानीयासम्मलाई त्रिपाठी आफ्नै हातले बनाएर मिठा र जर्दा पान खुवाउने गरेको बताउनुहुन्छ ।

सवारी यात्रा गर्नेहरुका लागि खानामा प्रख्यात मुग्लिन बजारमा पारखीहरु खानापछि पान पसल खोज्दै हिँड्ने गर्दछन् । बिहान ६ बजेदेखि राति १२ बजेसम्म पनि पानको व्यापार हुनेगर्दछ ।

५० वर्षीय त्रिपाठीलाई जिल्ला र राजधानीका धेरै पत्रकारले चिन्दछन् । नेपाल पत्रकार महासङ्घमा उहाँ धेरै पटक केन्द्रीय पार्षद् बन्नुभयो । हाल पनि उहाँ चितवनबाट प्रदेश पार्षद् हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?