आलमको बयान पुनः सुचारु

काठमाडौं । मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा मंगलबार केही समय रोकिएको बयान फेरी सुचारु भएको छ । अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी पेपर) नभएको भन्दै आलम पक्षका कानून व्यवसायीहरुले केही समय बयान रोकेको बताइएको थियो ।

म‌ंगलबार बिहान करिब ११: ४५ बजेदेखि बयान शुरु भएपनि बीचमै आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको प्रतिलिपि नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए । न्यायाधीशले कानून व्यवसायीहरुलाई मिसिल र अभियोग पत्रको प्रतिलिपि उपलब्ध गराउन भनेपछि केही समय बयान रोकिएको थियो ।

८ सय ३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर प्रतिलिपि उपलब्ध गराइएपछि बयान शुरु भएको जिल्ला अदालत रौतहटले जानकारी दिएको छ । अदालतका अनुसार आलमको बयान मंगलबार दिउँसो ३ बजेर २० मिनेटबाट पुनः सुचारु भएको हो ।

आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उधोग र बम बिस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको छ । आलमविरुद्ध २७ चैत २०६४ मा आफ्नै काकाको घरमा बम बनाएको, बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा हालेर मारेको अभियोग लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?