काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ । शनिबारबाट हुन लागेको प्रथम एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यसहित टोली बंगलादेश प्रस्थान गरेको हो । अरुणा शाहीको कप्तानीमा रहेको टोलीले पहिलो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
टोलीले केहीसाता थाइल्याण्डमा अभ्यास गरेको थियो । जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीले दोस्रो खेल सोमबार अफगानिस्तान, मंगलबार कीर्गिस्तान र बुधबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई बुधबार नेपाल भलिबल संघले बिदाई गरेको थियो । नेपाली टोलीमा कप्तान शाहीसँगै प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया