काठमाडौं । सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो ।
गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले विविध अवरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन । झण्डै १० किलोमिटर दूरीमा रहेको बलेवा विमानस्थलसम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले नै थप १५ किलोमिटर सडकको स्तरोन्नतिको जिम्मेवारी पाएको छ ।
मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक स्तरोन्नतिका क्रममा मानवअधिकार र वर्षात्को समयलगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो । बलेवा विमानस्थलसम्मको १० किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । “हामीले १० किलोमिटर सडक बनाउने गरी जिम्मेवारी लिएका हौँ”, निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भन्नुभयोे, “उक्त खण्डको अधिकांश काम सकिएको छ ।” केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउनेबाहेक सबै काम सकिएको भट्टराइले दाबी गर्नुभयो । बागलुङ–बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतिको जिम्मा पाएको थियो ।
“गुल्मी र बागलुङमा गरेर हामीले २५ किलोमिटर सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो”, भट्टराईले भन्नुभयोे, “बागलुङ खण्डको अधिकांश स्थानमा काम सकिएको छ ।” निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतका अनुसार सेनाले पछिल्लोपटक पाएको जिम्मेवारीअनुसार आठ किलोमिटर सडकको स्तरोन्नतिको काम सकिएको छ भने बाँकी सात किलोमिटर सडकमा बम विष्फोट गर्नुपर्नेछ ।
पछिल्लो योजनाअनुसार बागलुङ र गुल्मीमा स्तरोन्नतिका लागि सेनाले रु २५ करोड बजेट पाएको छ । जम्मा २५ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी पाएको बजेटअनुसार नै काम भइरहेको प्रमुख सेनानी भट्टराईले बताउनुभयो ।
करिडोरको बागलुङ खण्डको बुधबार बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले अनुगमन गर्नुभएको छ । मालढुङ्गादेखि अर्जेवाको सुम्समासम्मको अनुगमन गर्नुभएका पाठकले नेपाली सेनाले गरीरहेको स्तरोन्नतिको कामको प्रशंसा गर्नुभयोे । “यही गतिमा चल्ने हो भने आगामी आर्थिक वर्षसम्म स्तरोन्नतिको काम सकिन्छ”, पाठकले भन्नुभयोे, “बजेटको कमी हुँदैन तर काम कति हुन्छ भनेर अनुगमन भइरहेको छ ।”
सेनाले निर्माण गरेको सडक फराकिलो बनेको र बाँकी रहेका केही स्थानमा पनि थप मेहनत आवश्यक रहेको पाठकले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया