विदेशी सम्बन्धन लिएर सञ्चालित १५ वटा कलेज खारेज गर्ने तयारीमा सरकार

काठमाडौं । नेपालमा रहेका विदेशी विश्वविद्यालयहरुबाट सम्बन्धन लिएर सञ्चालित रहेको १५ वटा शिक्षण संस्था सरकारले खारेज गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले बिहिबार गरेको पत्रकार सम्मेलनमा नेपालको नीति र प्रणाली अनुसार १५ वटा शिक्षण संस्थालाइ खारेज गर्न लागिएको बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलका अनुसार न्यायिक दृष्टिकोणले पहिलोपल्ट प्रक्रिया पूरा गर्न १५ दिनको समय दिइएको र यदी त्यो समयमा प्रक्रिया पूरा नगरेमा खारेज गर्ने जानकारी दिएका छन् ।

यस्तै खारेजीमा पर्न लागेका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज काठमाडौं, क्यापिटल कलेज काठमाडौं, एभेरेष्ट एजुकेशन काठमाडौं भ्याली काठमाडौं, पोलिगन कलेज काठमाडौं, एपेक्स लाइफ स्कुल, साउथ वेस्टन काठमाडौं, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेगा कलेज बुटवल, वेष्ट्रन विजनेश कलेज धनगढी र कसमस इन्टरनेशनल कलेज पोखरा रहेका छन् । “हाम्रो प्रणाली अटेरी गरेर सरकारले दिएको समय सीमाभन्दा बाहिर गएमा सरकार बाध्य भएर खारेज गर्ने निष्कर्षमा पग्नेछ,” शिक्षामन्त्री पोखरेलले बताए, “नियम विपरित सञ्चालनमा आएका नवीकरण नगरेको र राजस्व समेत नतिरेका लगायत कमजोरी समेत देखिएको छ । ” मन्त्रालयका अनुसार ती कलेजहरुले करिब दुई वर्षदेखि नवीकरण नगरेको र राजस्वसमेत नतिरेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?