काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।
अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया