काठमाडौं । साहित्यकार चन्द्रशेखर उपाध्यायलाई विद्यापति पुरस्कार प्रदान गरिने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको मैथिली भाषाको सबैभन्दा ठूलो राशिको पुरस्कार साहित्यकार उपाध्यायलाई दिने घोषणा गरिएको हो।
शनिवार विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी २ लाख राशि रहेकाे पुरस्कारको घोषणा गरेको हो । धनुषा रघुनाथपुरका उपाध्यायलाई सुदामा चरित्र नामक मैथिली खण्डकाव्यका लागि पुरस्कृत गर्न लागिएको छ ।
त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
उनले कालो सूर्य नामक नेपाली भाषाको उपन्यास मैथिली भाषामा अनुवाद गरेका छन् ।
नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जनकपुरधामका पत्रकार उपेन्द्र भगत नागवंशीलाई प्रदान गरिने भएको छ ।
यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने छ भने नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए । यी पुरस्कारहरुको राशि जनही १\१ लाख रुपैयाँ रहेको छ ।
पुरस्कृत हुनहरुलाई कोषको विधान बमोजिम यही आर्थिक वर्षभित्र एक विशेष समारोहका बीच पुरस्कार प्रदान गरिने कोषले जनाएको छ ।
मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कार्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरिएको थियो । २०६८ सालमा स्थापना गरिएको कोषले अहिलेसम्म ३० जना श्रष्टालाई पुरस्कृत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया