काठमाडौं । पर्वतमा किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ ।
जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्नलगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा ०७३/०७४ मा निर्माण थालिएको थियो । कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल पाँच आना जग्गामा भवन निर्माण शुरु गरिएको हो । निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । “बजेट विनियोजन भएपछि काम थाल्यौँ”, उहाँले भन्नुभयो, “लागत मूल्याङ्कनअनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगेन ।” दुईतले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो ।
तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन् । भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ । भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ ।
देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो । यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ । मौसममा ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १५० मा बिक्री हुने किसानले बताएका छन् ।
विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताउनुभयो ।
अलैँचीले बजार नपाएपछि कृषक समस्यामा
व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका पर्वतका किसान यतिखेर अलैँची बिक्री नहुँदा समस्यामा परेका छन् ।
जिल्लाको मोदी, कुश्मा, फलेबास र महाशीला गाउँपालिकामा व्यावसायिकरुपमा अलँैची खेती गर्दै आएका कृषकले अलैँचीले बजार नपाएको गुनासो गरेका हुन् । यी क्षेत्रमा झण्डै २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
पर्वतको मोदी गाउँपालिका–१ भूकका किसानले राम्रो आम्दानी हुने भन्दै खरबारी, करेसा र कोदो फल्ने बारी मासेर अलैँची रोपेका थिए ।
कुनै समय प्रतिमन रु एक लाख २५ हजारमा बिक्री भएको अलैँची अहिले मुस्किलले रु २३ हजारमा बिक्री गर्न बाध्य हुनुपरेको अगुवा कृषक केवी गुरुङले गुनासो गर्नुभयो ।
यहाँ २०० रोपनी जग्गामा अलैँचीखेती गरिएको छ । अलैँचीखेती गर्दा करीब रु एक करोड खर्च भए पनि बिक्री नहुँदा लगानी खेर जाने अवस्था रहेको उहाँले बताउनुभयो ।
पर्वतमा यस वर्ष २०० मन अलैँची उत्पादन भएको छ । गतिलो मूल्य नपाउँदा कृषकले अलैँची थन्क्याएर राख्न बाध्य भएका छन् । गतिलो मूल्य नपाएपछि घरमै राखिएको भोक्सिङका कृषक नारायण गुरुङले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया