काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज (मंगलबार) नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद आज नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने छ ।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लाग्नुभएका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनुहुने कार्यक्रम छ । परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानकाे अवलाेकन गर्ने तय भएको छ ।
हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उहाँले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनुहुनेछ ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने कार्यक्रम तय परराष्ट्र मन्त्रालयले जनाएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया