लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो: उपसभामुख पोखरेल

काठमाडौं । प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले लोकतन्त्र निरन्तर प्रक्रिया भएकाले यो सुधार र सुदृढ हुँदै जाने बताउनुभएको छ । फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘खुला संसद् ः अवधारणा र अभ्यास’ छलफल कार्यक्रमलाई उहाँले सम्बोधन गर्दै संसद्लाई निष्क्रिय हुन नदिन सबैको सक्रिता आवश्यक रहेको बताउनुभयो ।
उहाँले संसद्मा निर्माण हुने कानूनको विषयगत समितिमा लगेर दफावार छलफलमा विशेषज्ञसमेतको राय र सुझावबाट पारित भइरहेका कानूनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभा जनताका प्रतिनिधि भेला हुने थलो भएकाले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश सभाका हरेक गतिविधिको अभिलेख राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । फोरमकै कृष्ण सापकोटाले खुला सरकारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार गणेश लम्साल, मोहम्मद सदरुल, विवेक गौतम, लीला वल्भव घिमिरे, कानून व्यवसायी विकास थापाले पनि प्रदेश सभाका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?