आफन्तबाटै १० हजारमा बेचिइन् किशोरी !

काठमाडौं । भारतको कोठीमा १५ वर्षीया बालिकालाई बेचेको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ । ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङलाइ पक्राउ गरिएको हो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको छ । तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ ।

कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।

प्रहरीका अनुसार नेपालकै महिला मानव तस्करले ती बालिकालाई नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाएको खुलेको छ ।

कोठीमै आउने नेपाली ग्राहकको सहयोगमा ती बालिको उद्धार गरिएको थियो । नेपाल फर्किने क्रममा माइती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल–भारत नाकाबाट उद्धार गरी माईती नेपाल केन्द्रीय कार्यालय काठमाडौँमा ल्याएर प्रहरीलाई जानकारी गराएका थिए ।

सुनिताले कोठीको सञ्चालक लक्ष्मी र हेमालाई बुझाएको र बुझाएपछि १० हजार भारतीय रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिनासम्म कोठामा बन्धक बनाई युवती बनाउनको लागि प्रयोग गरिने सुई र औषधी प्रयोग गरिएको खुल्न आएको छ । पीडितले यहि कात्तिक २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?