काठमाडौँ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सडकमुनिबाट वन्यजन्तु वारपार गर्न सक्ने गरी यी पुल निर्माण हुनेछन् ।
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको पहिलो खण्ड गैँडाकोटबाट दाउन्नेसम्ममा कम्तीमा १५ जैविकमार्ग निर्माण गरिने योजना रहेको प्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोटबाट दाउन्नेसम्म विभिन्न क्षेत्रमा जङ्गलसमेत पर्ने भएकाले जङ्गल क्षेत्रमा वन्यजन्तु वारपार गर्ने पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । सडकमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत नजिक पर्ने भएका कारण वन्यजन्तु यस क्षेत्रमा धेरै रहने हुँदा वन्यजन्तुलाई बाटो वारपार गर्नका लागि यी पुलहरु निर्माण गर्न लागिएको हो ।
वन्यजन्तुको आवतजावत हुने स्थानको अध्ययन गरी पुल निर्माण गरिनेछ । झण्डै १० स्थानमा हाल पानी निकासका लागि बनाइएका ‘कल्भर्ट’लाई नै वन्यजन्तु वारपार गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ । पानी निकास र वन्यजन्तु वारपार दुवै प्रयोजनका लागि हुने गरी व्यवस्थापन गरिने योजना प्रमुख अधिकारीले बताउनुभयो ।
गैँडाकोटबाट दाउन्नेसम्मको करीब पाँच स्थानमा भने वन्यजन्तु वारपारकै लागि भनेर नयाँ पुल निर्माण गरिने उहाँले बताउनुभयो । वन्यजन्तु वारपार गर्न सक्ने गरी यी मार्ग निर्माण गरिनेछन् । यसले वन्यजन्तु वारपार गर्दा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने घटनालाई रोक्न सहयोग पु¥याउने उहाँको भनाइ छ ।
गैँडाकोटको थुम्सी, कावासोतीको खरकट्टा, डण्डा–चोरमारबीचको ४० किलो, चोरमार–अरुणखोला, अरुणखोला–दुम्किबास र दाउन्ने क्षेत्रको जङ्गलमा वन्यजन्तुका लागि वारपार गर्ने पुल निर्माण हुनेछन् । दाउन्नेमा भने ‘ओभरपास’ (सडक माथिबाट वारपार गर्ने स्थान) बनाउने योजनाको विषयमा समेत छलफल अगाडि बढेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । ठेक्का सम्झौताभित्र ‘ओभरपास’ बनाउने विषय नसमेटिएको भए पनि एडिबीसँग यस विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो ।
वन्यजन्तु आवतजावत गर्ने अवस्थाको अध्ययन गरी यस क्षेत्रमा वन्यजन्तुका लागि ‘ओभरपास’ बनाउने विषयमा छलफल चलेको योजना प्रमुख अधिकारीले बताउनुभयो । ‘ओभरपास’ बन्यो भने यो वन्यजन्तु वारपारका लागि बनाइने नेपालकै लागि पहिलो ‘ओभरपास’ हुनेसमेत उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया