काठमाडौं । रौतहट बम बिस्फोटमा घाईते भएकाहरुलाई घटना लुकाउन ईट्टा भट्टीमा जिँउदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका अफताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न शुक्रबार जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश दीपक ढकालको इजलासमा चार दिन भएको थुनेछेक बहसपछि पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफामा तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने प्रावधान रहेको छ ।
प्रहरीले आलम बिरुध्दको मुद्दामा जिउँदै मान्छेलाई इट्टा भट्टीमा पोलेर प्रमाण नष्ट गर्न सघाउने राज इट्टा भट्टाका मुख्य संचालक बद्री सहनी समेत ११ जना प्रतिवादी कायमगर्दै गत सोमबार मुद्दा बुझाएको थियो ।
प्रहरीले घटनालगत्तै किटानी जाहेरी परेपनि कानूनी सजायका भागिदार नभएका मुख्य पाँच सहित ११ जनालाई प्रतिवादी बनाएको छ। मालिकसहित ५ जनालाई मुख्य अभियुक्त बनाएर मुद्दा पेश गरेको थियो । प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलम सहित मोहम्मद महताब आलम (फरार), मोहम्मद मोविन आलम (फरार), शेख भदई (फरार), शेख सेराज भन्ने शेष सर (फरार), शेख फजलेह (फरार) र सगिर आलम (फरार) लाई घटनालगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ।
यस घटनामा अनुसन्धानमा प्रत्यक्ष संलग्न देखिएका नयाँ अभियुक्तहरु शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ती साह कायम गरेको हो। २०६४ चैत्र २७ गते बुधबार रौतहटको राजपुरफरहदवा ४ स्थित आलमको काकाको घरमा बम विष्फोटन भएको थियो । अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरि बम बनाँउदा अचानक बिस्फोट भएको थियो । बिस्फोटमा घाइते भएकालाई आलमले जिउँदै इटा भट्टामा हाली जलाएको भन्दै जाहेरी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया