लुम्बिनीको पर्यटन : भित्र चहलपहल बाहिर सुनसान

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । पार्किङमा सवारी अटेका छैनन् । टिकट काउन्टरमा टिकट काट्न भ्याइनभ्याइ छ ।

मायादेवि मन्दिरमा प्रत्येक दिन बिहानदेखि साँझसम्म चहलपहल हुन्छ । प्रवेशद्वारमा पर्यटकको भीडले सुरक्षा दिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । त्रिपिटक वाचनको रौनकले पर्यटक पनि उत्सहित देखिन्छन् । तर यहाँ आउने पर्यटकको बसाइ अवधि निराशाजनक छ । आएकामध्ये ५ प्रतिशतले रात बिताउने गरेको पाइएको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढेको देखिन्छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार दैनिक १० देखि १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । सन् २०१८ मा १६ लाखभन्दा धेरै पर्यटक यहाँ आएका थिए । त्यसअघि सन् २०१७ मा १५ लाख ३४ हजार र २०१६ मा १२ लाख ८५ हजार पर्यटक आएको कोषले जनाएको छ । यो तथ्याङ्क मायादेवी मन्दिर प्रवेश गर्नेको मात्र हो ।

यसरी लुम्बिनीभित्रको चहलपहल देख्दा लाग्छ यहाँको पर्यटन निकै फस्टाएको छ । तर यहाँका पर्यटन व्यवसायी भने यो मान्न तयार छैनन् । “लुम्बिनी विकास कोषको पर्खालभित्र मात्रै चहलपहल भएर के गर्नु रु बाहिर होटल खाली छन्, पर्यटन व्यवसायी घनश्याम गुप्ता भन्नुहुन्छ, “पर्यटक सङ्ख्यामा धेरै देखिने मात्रै भयो तर व्यावसायिक फाइदा शून्य जस्तै छ ।”

पर्यटकको सङ्ख्याअनुसार खचाखच हुनुपर्ने लुम्बिनीका होटल प्रायः खाली छन् । लुम्बिनीमा आयोजना गरिएको त्रिपिटक वाचनमा मात्रै स्वदेशी तथा विदेशी भिक्षु, भिक्षुणी, उपासक उपासिका गरेर झण्डै एक हजारको सहभागिता छ । त्रिपिटक वाचनका लागि आएका अधिकांश भिक्षु भिक्षुणी तथा अन्य सहभागीलाई लुम्बिनीका विहारमै बस्ने व्यवस्था मिलाइएको छ जसले गर्दा फाइदा लिन नसकेको गुनासो पर्यटन व्यवसायीको छ ।

“त्रिपिटक वाचनको जति प्रचारप्रसार गरिनुपथ्र्यो त्यो भएन जसले गर्दा सहभागिता कम भयो, आएका पर्यटक पनि विहारमै बसे लुम्बिनी होटल एशोसिएशनका महासचिव लीलामणि शर्मा भन्नुहुन्छ, “प्रचारप्रसारको कमी हुँदा त्यसको असर पर्यटन व्यवसायमा प¥यो ।”

लुम्बिनीमा हुने आध्यात्मिक कार्यक्रममा सहभागी हुन आउने लुम्बिनी विकास कोषभित्रका विहार तथा गुम्बामै बस्ने गर्छन् । विहारले नै व्यवसाय गर्न थालेपछि होटल व्यवसायमा समस्या परेको होटल सञ्चालक टोपराज न्यौपानेकोे गुनासो छ । “धर्म र सेवाका नाममा विहारले व्यापार गरेका छन्, सम्बन्धित निकायले यसलाई बेवास्ता गरेको छ”, सञ्चालक न्यौपाने भन्नुहुन्छ ।

लुम्बिनीमा होटल एशोसिएसनका अनुसार लुम्बिनी क्षेत्रमा ७५ वटा होटल सञ्चालनमा छन् । यी होटलमा पाँच हजार जना अट्ने क्षमता छ । लुम्बिनी आउनेमध्ये आधा पर्यटक बस्ने हो भने यी होटल भरिभराउ हुन्छन् तर आउनेमध्ये कतिपय पर्यटक एक रात पनि लुम्बिनीमा नबिताइ फर्कने गर्छन् । आएका पर्यटक पनि विहारमै बस्ने गरेका कारण पर्यटन व्यवसायी मारमा परेको लुम्बिनीका होटल एशोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठको भनाइ छ ।

विहारले व्यापार गरेका कारण पर्यटन व्यवसायीलाई परेको मर्काका विषयमा पटपटक लुम्बिनी विकास कोषलाई जानकारी गराए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । “विकास कोषलाई लिखितरुपमै पटकपटक जानकारी गराएका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “विहारमा पर्यटक बस्ने व्यवस्था हुँदासम्म लुम्बिनीको पर्यटन फस्टाउन सक्दैन ।” विहारमा पर्यटक खचाखच भरिँदा होटल सुनसान हुनु विडम्बना भएकाले यसको छिटो समाधान गर्न उहाँले कोषसँग आग्रह गरेको छ ।

लुम्बिनीमा भारत, चीन, थाइल्याण्ड, जापान, कोरिया, जर्मन, श्रीलङ्का, म्यान्मालगायतका विभिन्न देशका दुई दर्जनभन्दा बढी विहार सञ्चालनमा छन् । विहारले कोषभित्रै गेष्ट हाउस सञ्चालन गरेका कारण यस क्षेत्रका व्यवसायीले विरोध जनाएपछि विकास कोषले पत्राचार नै गरेर पर्यटक नराख्न निर्देशन दिएको कोषका प्रशासन प्रमुख चूडामणि भट्टराईले जानकारी दिनुभयो ।

“लुम्बिनी पर्यटकीय क्षेत्रमात्रै होइन, तीर्थस्थल पनि हो । यहाँ धार्मिक भावनाले आउने व्यक्ति विहारमै बस्न रुचाउँछन्”, भट्टराई भन्नुहुन्छ, “त्यस्ता व्यक्तिलाई भने विकास कोषले केही भन्न मिल्दैन ।” लुम्बिनी विकास कोषको सम्झौतामा विहार रेखदेखका लागि पाँच जनासम्म भिक्षु तथा पुजारी राख्न पाउने उल्लेख छ । सम्झौतामा पर्यटकलाई राख्न नपाउने र कुनै पनि व्यावसायिक मुनाफा हुनेगरी कार्य गर्न नपाउने कुरा स्पष्ट उल्लेख गरिएको कोषका प्रशासन प्रमुख भट्टराई बताउनुहुन्छ । पछिल्लो समयमा सम्झौताबमोजिम कार्य भए÷नभएको विकास कोषले निगरानी गरिरहेको पनि उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?