शिक्षा शाखा प्रमुखविहीन हुँदा शैक्षिक गतिविधि शून्य

काठमाडौं । पाल्पाका विभिन्न स्थानीय तहमा शिक्षा शाखा प्रमुखविहीन हुँदा शैक्षिक गतिविधिमा प्रायः शून्यता छाएको छ ।

जिल्लाका रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा अहिले शिक्षा शाखा प्रमुखविहीन बनेको हो । शिक्षा शाखा प्रमुख नहुँदा शैक्षिक क्षेत्रमा शून्यता छाएको शिक्षकको गुनासो छ ।

रामपुर नगरपालिकामा गत असोज १७ गतेदेखि शिक्षा शाखा प्रमुखको पद रिक्त रहेको छ । शाखा प्रमुख रमाकान्त अर्याल सरुवा भएर अन्यत्र गए पनि उहाँको रिक्त स्थानमा कोही नआउँदा कामकाजमा समस्या भएको हो । काम चलाउनका लागि हाल रोजगारदाता संयोजक नीरज पोखरेललाई जिम्मेवारी दिइएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

रामपुरमा शिक्षा शाखा प्रमुखविहीन हुँदा शैक्षिक गतिविधिका काममा शून्यता छाएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । “विद्यालयमा शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्बन्धित शाखा प्रतिनिधि नहँदा समस्या पर्ने गरेको छ, शैक्षिक क्यालेण्डरमा उल्लेख गरिएको मितिमा प्रधानाध्यापकको बैठक बस्न सकेको छैन, रामपुर नगरपालिकाभित्र शैक्षिक गतिविधिमा शून्यता छाएको छ”, प्रअ लम्सालले भन्नुभयो ।

शाखा प्रमुख नहुँदा शिक्षा सेवा लिन जानुभएका शिक्षक रित्तो हात फर्कन बाध्य छन् । प्रथम चौमासिकको तलब यसअघि नै पाउनुपर्नेमा शिक्षा शाखा प्रमुख नहँुदा कात्तिक महिनाको तलब अहिलेसम्म निकासा हुन सकेको छैन । यस आर्थिक वर्षमा नगरपालिकामा शिक्षा क्षेत्रमा आएका अनुदान, भवन निर्माणका सम्बन्धमा कुनै पनि कार्यक्रमबारे जानकारी नभएको शिक्षकको गुनासो छ ।

यस्तै माथागढी गाउँपालिकामा शिक्षा शाखा प्रमुखको कार्यभार सम्हाल्दै आउनुभएका स्रोत व्यक्ति काशीराम बस्याल अवकाश भएपछि विगत एक वर्षदेखि शाखा प्रमुखविहीन अवस्थामा छ ।

काम चलाउनका लागि करारमा सुदिना गौतमलाई जिम्मेवारी दिइएको छ । शिक्षाका कार्यक्रम कार्यान्वयन गराउन, विभिन्न कार्यक्रम सञ्चालन गराउन समस्या परेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

कर्मचारी पदपूर्तिका सम्बन्धमा एक वर्षअघिदेखि नै सम्बन्धित ठाउँमा माग गरे पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा शैक्षिक कामकाजमा कठिनाइ परेको अध्यक्ष मगर बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकामा पनि शिक्षा शाखा प्रमुख खाली छ । स्रोत व्यक्ति झलक रायमाझीले एक वर्षसम्म शिक्षा शाखाको कार्यभार सम्हाले पनि उहाँ सरुवा भएर अन्यत्र गएपछि एक वर्षदेखि शैक्षिक कार्यक्रम गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

“शुरुदेखि नै गाउँपालिकामा शिक्षा शाखा प्रमुखविहीन छ, स्रोत व्यक्तिलाई एक वर्षसम्म काम चलाउका लागि शाखाको जिम्मेवारी दिएर काम चलाइयो, सम्बन्धित शाखा प्रमुख नहुँदा प्रअ बैठक बस्न, शैक्षिक गतिविधिका काम गर्न गाउँपालिकामा समस्या परिरहेको छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

शिक्षा शाखा खाली रहेपछि काम चलाउनका लागि मुख्यमन्त्री परियोजना कार्यालयका कर्मचारी हरिप्रसाद पोखरेललाई जिम्मेवारी दिइएको छ । पूर्वखोला गाउँपालिकाले शिक्षा शाखाको कार्यभारको जिम्मेवारी उद्बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकहरी देवकोटालाई दुई महिनादेखि दिएको छ ।

शिक्षा शाखा प्रमुख टेकबहादुर खत्रीले अवकाश लिएपछि यस आर्थिक वर्षको शुरुदेखि नै गाउँपालिकामा शिक्षा शाखा प्रमुखविहीन अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउनुभयो ।

“शिक्षा शाखा नै खाली हुँदा शैक्षिक क्षेत्रमा सोँचेअनुसारका काम गर्न अप्ठ्यारो परिरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो । नगरपालिकाको हकमा शिक्षा शाखामा एक उपसचिव, एक शिक्षा अधिकृत र एक प्राविधिक सहायक दरबन्दी हुनुपर्नेछ भने गाउँपालिकामा एक शिक्षा अधिकृत, एक प्राविधिक सहायकको दरबन्दी रहे पनि धेरै स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी छैनन् ।

बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा एक÷एक जना अधिकृत, तिनाऊ गाउँपालिकामा एक अधिकृत, तानसेन नगरपालिकामा एक जना उपसचिव, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकामा एक÷एक जना स्रोत व्यक्तिले शिक्षा शाखा संयोजकको पदमा रही शैक्षिक क्षेत्रको जिम्मेवारी सम्हाल्दै आइरहेको शिक्षा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो ।

“कर्मचारी अभावका कारण विषयगत शाखाका कामकाजमा केही समस्या भइरहेको गुनासो आएको छ”, उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि गृहकार्य भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?