डोजरले महिला हुत्याउने चालक जेल चलान

बैतडी । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए । यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो । सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो । आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो ।

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो । सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?