आरन पेशाबाटै मासिक ५० हजार आम्दानी गर्ने हर्कबहादुरको कथा

काठमाडौं । दुईवटा खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन ।

आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ ।

सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उहाँले आरन पेशा थाल्नुभएको हो । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।

मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन् । उहाँले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताउनुभयो । १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उहाँले आरनको सहयोगमा खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउनुहुन्छ ।

उहाँले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आउनुभएको छ भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्नुहुन्छ् । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनई बनाउने सीप पनि रहेको छ ।

आरनमा बनेको खुकुरीलाई न्यूनतम रु तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० को दर तथा थेबेलाई  एक हजार २०० मूल्य पर्ने उहाँले जानकारी दिनुभयो । आरनबाट दैनिकरुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने ९अर्जाब्ने० काम पनि हुन्छ ।

गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा रु ३५ हजार कमाइ हुनेहुँदा २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेबापत रु ५०० तिर्नुपर्ने रेट रहेको छ । विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धान्नुभएको छ । उहाँले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाउनुभएको छ । विदेश जाने हतियार पासपोर्ट पनि लिनुभएको छैन । सानै उमेरमा पल्टन जाने भने पनि त्यसमा नभएको पीडा सुनाउँदै उनले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा पनि नगएको खुलासा गर्नुभयो ।

उमेरले ५० औँ वसन्तमा घुम्दै गर्नुभएका हर्कबहादुरले फलामको साथै काठको काम गर्न पनि सिपालु हुनुहुन्छ । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ ९मोही० जस्ता सामान बनाउने आफूसँग सीप रहेको उहाँको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहक पुग्ने गरेका छन् ।

परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् । पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेबापत अन्नपात लिन्छन् ।

धान फल्ने खेतमा केराखेती : आम्दानी दोब्बर

गौरिया, गुडुरालगायतका रैथाने जातका धान फल्ने फाँटमा म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट र खबराका गाउँका किसानले व्यावसायिकरुपमा केराखेती शुरु गरेपछि दोब्बर आम्दानी लिन सफल भएका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रागह्रामा व्यावसायिकरुपमा केराखेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने तथा आम्दानी पनि दोब्बर हुने भएकाले धान फल्ने खेतमा केराखेती गरिएको कृषकले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताउनुभयो । कार्कीले खेतका गह्रामा ५५० वटा केराका बिरुवा लगाउनुभएको छ ।

त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतैभरि केरा लगाएको हुँ”, कार्कीले भन्नुभयो । “यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करीब १९ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ”, कार्कीले भन्नुभयो, “अबको दुई वर्षपछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ ।

करीब २० कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन यहाँ । अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल, भीमबहादुर कार्कीलगायतका कृषकले धान फल्ने खेतमा नै केराखेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताउनुभयो । गत जेठमा यहाँका कृषकले करीब दुई हजार केराका नयाँ बिरुवा लगाएका छन् । पकाएकोप्रति १२ कोसा १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीले बताएका छन् ।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडासदस्य चन्द्रबहादुर कँुवरले बताउनुभयो । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख वजेट विनियोजन भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?