काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ ।
युवा स्वयम् सेवकको परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्य सहित विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरु ट्राफिक स्वयम्सेवकको रुपमा परिचालन हुने बताउनुभयो ।
अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुने छन् । ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरुलाई शुक्रबार एक दिने प्रशिक्षण समेत दिएको छ ।
ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया