काठमाडौं । स्वस्थ हुनु भनेको शारीरिक सरोकारमात्र होइन, मन, मस्तिष्क र आत्माको कुशलताको प्रश्न पनि हो । कोही मानिस शारीरिक रुपले स्वस्थ हुनसक्छ, तर मानसिक सन्तुलन ठीक नभएको, वा अल्छी तनाब र बेचैनीमा रहेको पनि हामी पाउँछौँ । त्यसकारण स्वस्थ रहनु भनेको मानिसका तीनवटै आयाम निरोगी शरीर, सृजनशील दिमाग र सकारात्मक सोचको संयोग आपmूभित्र बनाउनु हो । सुस्वास्थ्यको सन्दर्भमा आलस्यतालाई नकारात्मक र वर्जित रुपमा हेरिन्छ । जेम्स् केली भन्ने एक लेखकले त ‘लोसे मानिस भिखारीको भाई हो’ समेत भनेका छन् । हाम्रा आयुर्वेदिक वा धर्मशास्त्रहरूले पनि ‘प्रातः भ्रमणम् पथ्यम्…….’ भनेका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयले १२ वर्ष लगाएर तीन लाखभन्दा धेरै मानिसउपर गरेको लामो अध्ययनबाट हालै के पत्ता लागेको छ भने युरोपमा मोटोपना (ओबेसिटी) बाट मर्ने मानिसको संख्याभन्दा ब्यायाम वा हिँड्नमा अल्छी गर्नाले मर्नेको संख्या दोब्बर छ । शरीरलाई नचाउनु भनेको मनोरञ्जन वा संगीतसँगको कुरामा मात्र सीमित छैन, सुस्वास्थ्य र दीर्घायु पनि हासिल गर्नु हो । ‘जो नाच्छ ऊ धेरै बाँच्छ’ भन्ने हामीकहाँ कहावत नै छ । तर यस आलेखमा स्वास्थ्यका लागि नाचको विषय होइन, हिँडडुलले कस्तो प्रभाव पार्छ भन्ने चिकित्सकीय मान्यता र यथार्थ प्रस्तुत गरिन्छ ।
प्रकृतिले पंछीको शरीर–संरचना उड्नका लागि, माछाको पौडिनका लागि, सर्प आदिको घस्रिनका लागि र मानिसको हिँड्नका लागि दिएको छ । त्यसकारण मानिसले हिँडाई (वाकिङ्) बाट रोग हटाएर शरीर, मन र मस्तिष्कलाई ताजा राख्नसक्छ । हिँडाइले शरीरमा शक्ति र सामथ्र्य बढाउँछ, मनलाई उत्साह, स्फूर्ति र जागृति दिन्छ, तनाब (स्ट्रेस) को हार्मोन घटाएर दिमागमा तनाब वा चिडचिडाहट हटाएर सहज आनन्द, ताजा र चिन्तामुक्त र चिन्तनयुक्त बनाइदिन्छ । हिँडाइले शरीरको प्रतिरक्षा प्रणाली ९इम्युन सिस्टम्० बढाउँछ । हिँड्दा समय खर्च हुनुबाहेक अरु खर्च लाग्दैन, खेलकूदमा जस्तो साथी चाहिँदैन, शरीरलाई भार पर्दैन, हिँडाइ पूरा गरेर आराम गर्दा बेग्लै आनन्द प्राप्त हुन्छ ।
हिँड्नको लागि समय नपाउने व्यस्त मानिसले पनि घर नजिक अफिस भए वा अफिसबाट अर्को स्थानमा जानुपर्ने भए सकेसम्म मोटर उपयोग नगरी पैदल हिँड्ने, विद्युतीय भ-याङ् उपयोग नगरी सिँढी चढ्ने वा ओर्लिने, अफिसका कोठाहरूबीच हिँडेर गर्नुपर्ने आन्तरिक काममा सहायकको सहयोग नलिई आफैँले हिँडेर गर्ने जस्ता विकल्प अपनाउन सकिन्छ ।
हिँड्ने गर्दा मानिसले ४० देखि ६० प्रतिशतसम्म बढी अक्सिजन ग्रहण गर्दछ, जसको स्वतः प्रभाव रक्तसञ्चार, मांशपेशी, भित्री अंग र दिमागसम्म नै पर्दछ । अक्सिजन ग्रहण बढ्नु भनेको शरीरमा स्फूर्ति, भोक तथा रुचि, पाचनक्रिया र काम गर्ने क्षमतामा उल्लेखनीय विकास र ब्यवहार वा मिजासमा पनि सकारात्मक परिवर्तन ल्याउनु हो । त्यसैले बिहान घाम उदाएको समयमा एकघन्टा फटाफट हिँड्नु स्वास्थ्यका लागि अति उत्तम तरिका हो । त्यसो त, बिहान मात्र होइन जुनसुकै बेला पनि पैदल हिँड्नु उत्तम हुन्छ ।
हिँडाइबाट शरीरमा मूख्य पाँच प्रकारका प्रभाव हासिल हुन्छन् । पहिलो प्रभाव, शरीर संरचनाको विकास हो । दिनहुँ कम्तिमा ४५ मिनेट फटाफट हिँड्ने मानिसले खानपिन्मा हेरफेर नगरी वर्षमा १८ पाउन्डसम्म तौल घटाउन सक्छ । हृष्टपुष्ट, अनुहार ताजा र चहकिलो भएर आउँछ । त्यसैगरी अरुचि र अन्य कारणले शरीरको तौल न्युनतमभन्दा तल रहेको भएमा भोक, निद्रा र पाचन क्षमतामा बृद्धि भई तौल बढेर बाञ्छित तहमा आउँछ । दोस्रो, मुटु र रक्तसंचारमा उपयुक्तता हासिल हुन्छ । दिनहुँ २० मिनेट नियमित हिँड्दा पनि हृदयरोगको सम्भावना ६० प्रतिशत कम हुन्छ । दिनहुँ १ घन्टाको हिँडाइबाट कोलेस्टोरल घट्ने, उच्चरक्तचाप नियन्त्रणमा रहने, निम्नरक्तचाप (लो ब्लडप्रेसर) भए ठीक तहमा आउने, रक्तचापका लागि औषधी खाइरहेको भए त्यसले राम्रोसँग काम गर्ने, हृदयाघातको सम्भावना धेरै कम हुने, मुटु र फोक्सोको ताकत बढेर थकान र कमजोरी हट्न गई दिनभर शरीर पूmर्तिलो हुन्छ ।
नियमित ब्यायाम वा हिँडाइले ‘इन्डोरफिन’ नामक हर्मोन पैदा हुन्छ, जसले दिमागको कार्यकुशलतामा बृद्धि गर्छ, परिणामस्वरुप मानिसमा आत्मविश्वास र मनोबल बढाइदिन्छ । तेस्रो, मांशतन्तु सक्रिय तथा मांशपेशी कसिलो भएर जोर्नी तथा शरीरको क्रियाशीलतामा शक्ति बढ्ने हुन्छ । स्नायु दुर्वलता हट्ने र दिमागको क्षमतामा पनि उल्लेखनीय बृद्धि भएर आउँछ । हिँडाइले ढाढ दुख्ने बिमार छ भने अपेक्षित लाभ पु-याउँछ । चौथो, शरीरको रोग प्रतिरोध क्षमतामा बृद्धि हुन्छ । बिमार लागेको भए घरेलु र सामान्य औषधीले पनि ठीक हुनसक्छ । पाचौँ, हिँडाइले यौन क्षमतामा बृद्धि गर्छ, पारीवारिक र दाम्पत्य जीवनमा सुख दिन्छ । सामान्य डिप्रेसनलाई ठीक गर्दछ ।
मानब शरीर बुढो हुँदै गएपछि हाडजोर्नी र यसका गठन कमजोर र जर्जर हुँदै जान्छन् । हड्डीमा हुनुपर्ने खनिज तथा क्याल्सियम तत्वमा क्रमशः ह«ास आउँनथाल्छ र भाँचिने जोखिम बढ्छ । चिकित्साशास्त्रमा यसलाई ‘अस्टेयोपरोसिस्’ भनिन्छ । अस्टेयोपरोसिस्को समस्या हटाउने उपचारात्मक उपाय क्याल्सियमको मात्रा बढाउने र ब्यायाम नै हो । हिँड्ने गर्दा यो समस्या धेरै मात्रामा हटेर जान्छ । दैनिक आधा घन्टा नियसित ढङ्गले हिँड्ने गर्दा पनि यसमा धेरै सुधार आउनसक्छ ।
माथि पनि भनियो नियमित हिँडाइले उच्चरक्तचाप वा ‘हाइपरटेन्सन’ नियन्त्रणमा आउँछ । शरीरको तौल घट्ने र मुटु र स्नायुले राम्रोसँग काम गर्नसक्ने, रगतमा युरिक एसिड र कोलेस्टोरल घट्ने हुनाले हिँड्नु मुटु र उच्च वा न्यून दुवैखालका रक्तचापलाई ठीक राख्न लाभदायक हुन्छ । कोलेस्टोरल (बोसोजस्तो चिल्लो तत्व) रगतमा मात्र होइन, अन्य मांसतत्वमा पनि हुन्छ । कतिपय खाद्यपदार्थ, जस्तै अन्डा, रातो मासु, घ्यु वा तेल आदिबाट अधिक कोलेस्टोरल पैदा हुन्छ र ‘लिपोप्रोटिन्स्’को माध्यम रगतमा पुग्छ । दुई किसिमका लिपोप्रोटिन्स् हुन्छन् ‘एच्डीएल’ र ‘एल्डीएल्’ । एच्डीएल् लिपोप्रोटिन्स् शरीरका लागि सामान्यतः राम्रो मानिन्छ । यही कोलेस्टोरलको तहले हामीभित्र तनाबको स्थिति दर्शाउँछ । एचडीएल कोलेस्टोरल अधिक छ भने हृदयरोगको जोखिम कम हुन्छ । कोलेस्टोरललाई काबुमा राख्ने उत्तम उपाय हिँड्नु हो । हिँडेर पसिना काड्नु त सूनमा सुगन्ध भइहाल्यो ।
हिँड्ने भनेर जथाभावी हिँड्नु ठीक हुँदैन । शरीरमा सञ्चो नभएको, अति भोकाएको बेला वा खाना खाएको लगत्तै हिँड्नु हुँदैन । चालिस वर्षभन्दा माथिको उमेरका मानिसले दौडिनु हुँदैन, नरोकीकन फटाफट हिँड््नु राम्रो हो । लाभको दृष्टिकोणले दौडिनु र फटाफट हिँड्नुमा फरक छैन । फुटपाथ नभएको, अँध्यारो, चिप्लो, फोहोर, अल्झाउने बस्तु धेरै भएको सडक वा अत्यधिक प्रदूषण, धुलो, धुँवा, सडकका कुकुर धेरै भएको, कर्कश आवाज आइरहेको ब्यस्त क्षेत्रतिर हिँड्नु उपयुक्त मानिदैन । शान्त, हरियालीयुक्त, प्रदूषणरहित प्राकृतिक वातावरणतिर हिँड्ने रुट रोज्नुपर्छ । कहिले कम, कहिले बढी हिँड्ने कहिले हिँड्दै नहिँड्ने गर्नु हुँदैन । खल्तीमा हात लुकाएर, प्रदूषण भएको क्षेत्रमा मास्क् नलगाई हिँड्नु जोखिम हुन्छ । रोकिँदै, अल्मलिँदै, चुरोट पिउँदै, क्रुद्ध भएर कुरा गर्दै हिँड्नुले अपेक्षित लाभ हुँदैन । बरु बाटोमा पर्ने मन्दीर, चैत्य, गुम्बा, गिर्जाघर, मस्जिद आदि पर्ने भए आफ्नो धार्मिक आस्थाअनुसार त्यहाँ एक फेरा लगाएर हिँड्दा मनलाई आध्यात्मिक शान्ति मिल्नसक्छ । चिकित्साशास्त्रमा हिँड्नुलाई उपचार र शिघ्र स्वास्थ्यलाभको महत्वपूर्ण पक्ष मानिएको हुनाले अपरेशन गरिएको बिमारीलाई पनि होस खुलेपछि तङ्ग्राउन र हिँडाउन सुरु गरिहालिन्छ ।
डा. महेन्द्रबहादुर विष्ट
पूर्व महानिर्देशक, स्वास्थ्यसेवा विभाग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया