जीवन गुजार्न नृत्य देखाउँछन् छन्त्याल समुदाय

काठमाडौं । जीवन गुजार्न कृषि पेशासँगै नृत्य देखाउने काममा व्यस्त छ छन्त्याल समुदाय । झापा गाउँपालिका–२ का छन्त्याल जातिका युवा नृत्य देखाउनकै लागि यहाँसम्म आएका हुन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २५औँ दीक्षान्त समारोहमा नृत्य प्रस्तुत गर्न आइपुगेका उक्त समूहले दिनभर छन्त्याल नृत्य प्रदर्शन गरे । “हामीलाई यहाँसम्म आएको प्रतिव्यक्ति दुई हजारका दरले पारिश्रमिक दिने भनिएको छ”, समूहका नेता धरमलाल हेमरमले भन्नुभयो, “यहाँ पुरुष २२ र महिला १० जना छौँ ।” आउने जाने र खाने बस्नेको व्यवस्था आयोजकले गरिदिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले लोपउन्मुख अवस्थामा रहेको सांस्कृतिक नृत्य विभिन्न ठाउँबाट आएका व्यक्तिमाझ प्रदर्शन गर्न छन्त्याल समुदायलाई झिकाएको बताउनुभयो ।

आदिवासी जनजाति समुदायभित्रका सुविधाबाट वञ्चित छन्त्याल समुदाय अझै पनि जीविकोपार्जनका लागि ज्यालाका नृत्य देखाउँदै हिँड्नुपर्ने अवस्था छ । “कृषि पेशामा नै निर्भर रहने अवस्था छैन । त्यसबाहेक हामी यसरी नै सामूहिक रुपमा गरिने नृत्यबाट आम्दानी बढाउने काममा लाग्दै आएका छौँ”, नृत्यमा सहभागी अर्का ताला टुडुले भन्नभुयो । यसरी नै बेलाबखत देखाउने गरेको नृत्यको भत्ताबापत पाउने रकम थप आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ । विशेषगरी आफ्नो समुदायभित्र दशैँको बेलामा देखाउने नृत्य अरूका लागि मनोरञ्जनको पाटोका रुपमा प्रदर्शन गर्दैै आए पनि अहिले जिउने आधार हो । महिलाले देखाउने ‘सराइ क्रप’ नृत्य छन्त्याल जातिको ‘सोराइ पर्व’मा देखाउने सामूहिक नृत्य हो । अरू जातिमा नभएको नृत्य मागअनुसार सामूहिक रुपमा ८०÷९० जनासम्मले पनि गर्न सकिने जुडुको भनाइ छ । हिन्दू धर्म मान्ने सो समुदायको मेला÷पर्वमा बजार÷बजारमा गएर नृत्य देखाउने गरिएको सनत टुडुले बताउनुभयो । “पहिलादेखि गर्दै आएको नृत्य भएकाले बालबालिकाहरुलाई सिकाउने गरिँदैन, यो ठूलाले देखाएको आधारमा हेरेर सिक्न गरिन्छ”, उहाँले भन्नुभयो । लुङ्गी र पञ्ची लगाएर ड्रमको तालमा सिठी फुकेर उफ्री उफ्री नाच्ने गरिन्छ ।

सामूहिक रुपमा गर्ने नृत्यमा समूह नाइकेले गरेको सङ्केतको आधारमा नृत्य देखाउने उहाँहरुको मुख्य काम हो । आफ्नो मौलिक मातृभाषा र वेशभूषा संस्कृति भएको छन्त्याल जातिको झापामा बाग्लै बस्ती रहेको छ । छन्त्याल जातिमा १२ वटा थर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?