पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरुद्वारा आपत्ति

काठमाडौं । पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।

नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताउनुभयो । पार्टीको झण्डा बोकेर घरदैलो कार्यक्रममा मत माग्न हिँड्ने व्यक्तिलाई कार्यालयले मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम तत्काल रोकेर निष्पक्ष व्यक्तिलाई परिचालन गर्नुपर्ने बताउँदै अन्यथा कार्यक्रम नै रोक्न निर्वाचन कार्यालयलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रतिनिधि निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनोट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चित हुनुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिह्नको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिह्नमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।

साझा पार्टीका प्रतिनिधि कालीचरण कार्कीले मतदाता शिक्षा दिने स्वयंसेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मुकुन्द थापाले मतदाता शिक्षा कार्यक्रमलाई तत्काल रोक्न अनुरोध गर्दै अहिलको समयमा मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।

आगमी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १(क)मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानूनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन भएको ५७ मध्ये २० जनालाई छनोट गरी परिचालन गरेको भन्दै मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताउनुभयो । यस बारेमा जानकारी पाएपछि प्रजिअ नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरुलाई आफू बसेको वडाभन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?