काठमाडौं । आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ ।
त्यस्तै घरभाडा करअन्तर्गत दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत एक लाख ५० गरी एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व सङ्कलन लक्ष्य तोकिएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजश्व सङ्कलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरुप नै सङ्कलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजश्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी सङ्कलन भइरहेको छ ।
आन्तरिक राजश्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव २०७६/७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा पाँच अर्ब १५ करोड राजश्व सङ्कलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव २०७५/७६ मा दुई अर्ब ४२ करोड राजश्व सङ्कलनको लक्ष्य पाएकामा तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया