‘वाटरपार्क’ पर्यटनको बलियो आधार

काठमाडौं । लामो समयको पर्खाइपछि नेपालगञ्जको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम अहिले धमाधम भइरहेको छ । “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ ।

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुनेछन् ।

“कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरूप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढ्छ, हाम्रो जीवनस्तर पनि फेरिन्छ”, स्थानीयवासी रघुवीर मिश्र खुशी व्यक्त गर्दै भन्नुहुन्छ ।

हुन पनि स्थानीयवासी मिश्रले भने जस्तै वाटरपार्क निर्माणको ‘डिजाइन’ पनि त्यसैगरी भएको छ । नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । “यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

नगर विकास समितिले अहिले वाटर पार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । केही दिनभित्र जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताउनुभयो । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार घरसंरचना निर्माण गर्नुपर्ने जनाइएको छ ।

पश्चिम नेपालकै नमूनाका रूपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् ।

निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?